एनसीडीए कोशीका अध्यक्षमा धनराज निर्वाचित

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको अध्यक्षमा विराटनगरका धनराज काफ्ले निर्वाचित भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१ मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित काफ्लेले ७२ मत प्राप्त गरेका छन् भने बरालले ५१ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित काफ्ले वर्तमान कार्यसमितिको खुद्रा तर्फ उपाध्यक्ष रहेका छन् भने बराल वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा झापाका सूर्यप्रसाद कोइराला विजयी भए । उनले विराटनगरका लक्ष्मीप्रसाद तिम्सिनालाई ३३ मतान्तरले पराजीत गरेका छन् । निर्वाचनमा कोइरालाले ७८ मत प्राप्त गरेका छन् भने तिम्सिनाले ४५ मत प्राप्त गरेका छन् । त्यस्तै थोक उपाध्यक्षमा विराटनगरका सुदिनध्वज श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले झापाका खेमराज बस्नेतलाई ९ मतले पराजीत गर्दै निर्वाचित भए । मतपरिणाम अनुसार श्रेष्ठले ६६ मत प्राप्त गरेका छन् भने बस्नेतले ५७ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महासचिवमा विराटनगरका लक्ष्मण माझी चौधरी निर्वाचित भएका छन् । माझीले सुनसरीका रविन्द्र घिमिरेलाई ३ मतको झिनो मतान्तरले पराजीत गरेका हुन् । विजयी भएका माझीले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपकोषाध्यक्षमा झापाका सेवक दाहाल विजयी भए । दाहालले मोरङ गछियाका पुष्पराज पोखरेललाई ३८ मतको फराकिलो मतान्तरले पराजीत गरेका हुन् । दाहालले ८१ मत प्राप्त गरेका छन् भने पोखरेलले ४३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश लुइँटेलले जानकारी दिएका छन् ।

शनिबार सुरु भएको कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा काफ्ले र बरालले आ–आफ्नो समूह बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । जसमा काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा तिम्सिना, थोक उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा माझी र उपकोषाध्यक्षमा पुष्पराज पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।

त्यस्तै बरालको समूहबाट वरिष्ठ उपाध्यक्षमा कोइराला, थोक उपाध्यक्षमा बस्नेत, महासचिवमा घिमिरे र उप–कोषाध्यक्षमा दाहालले प्रतिष्पर्धा गरेका थिए । खुद्रातर्फको उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित १२ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।खुद्रातर्फको उपाध्यक्षमा दिलिप सुवेदी, कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ र सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा शरद गौतम, खेमलाल काफ्ले, यामकुमार खड्का, बेदबहादुर थापा –गणेश), सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनमा कोशी प्रदेशका ११ वटा शाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, निवर्तमान अध्यक्षहरु प्रदेश समितिका अध्यक्ष तथा सदस्यहरु, पूर्व अञ्चल समितिका अध्यक्षहरु गरी १३१ जना मतदाता रहेका थिए । जसमध्ये निर्वाचनमा १२९ मत खसेको थियो । संघको दोस्रो प्रदेश अधिवेशनको शनिबार साँझ उद्घाटन गरिएको थियो ।

निर्वाचनमा अध्यक्षमा विजयी भएपछि काफ्लेले सबै मतदाता, अग्रज व्यवसायी तथा सहभागी व्यवसायीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए । उनले आफनो कार्यकालभर सबै औषधि व्यवसायीको हकहित र अधिकार प्राप्तीका लागि लागिपर्ने बताए । उनले आफूले प्रदेशमा रहेका ११ वटै शाखालाई व्यवस्थित रुपबाट संचालन गर्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता जनाए । उनले संघकोे विधानको अनुशरण गर्दै उत्पादक, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा व्यवसायीबीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने कार्यलाई प्राथमिकता दिनेसमेत बताए ।

सोमबार, २८ माघ, २०८१, बिहानको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर