हृदयरोग उपचार केन्द्रलाई प्रदेश सरकारकै असहयोग

चिकित्सक अस्पताल जानै छोडे, स्वास्थ्यकर्मी आन्दोलनमा, बिरामीहरु अलपत्र

विराटनगर । मुटु रोग उपचारका लागि प्रदेश सरकारले महत्वका साथ स्थापना गरेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई वर्तमान सरकारले पूर्णरुपमा बेवास्ता गरेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले स्थापना गरेको उक्त अस्पताल अहिले कांग्रेसकै सहयोगमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले अस्पताल सञ्चालनमा असहयोग गरेको हो । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले उक्त अस्पताललाई महत्त्व र प्राथमिकता दिएर स्थापना गरेका थिए । तर, वर्तमान सरकारले भने अस्पताल सञ्चालन नगर्ने बरु संघीय सरकारलाई हस्तान्तरण गर्ने मुढमा छ ।

प्रदेश सरकारले अस्पताल सञ्चालनलाई बेवास्ता गर्दै त्यहाँ कार्यरत चिकित्सकको करार अवधि थपसमेत गरेन । जसले स्थापना ग¥र्यो त्यसैबाट सहयोग नभएपछि अस्पताल सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेको हो । सरकारको असहयोग र बेवास्ताकै कारण त्यहाँ कार्यरचत मुटु रोग विशेषज्ञ चिकित्सकले पदबाट राजीनामा दिएको बताएका छन् । उनले सरकारको सहयोग नपाएका कारण अस्पतालको अवस्था नाजुक रहेको बताएका छन् ।

बन्द गर्ने मनसायमा पुगेको एमाले नेतृत्वको प्रदेश सरकार हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको महिना दिनदेखि करार सेवा अवधिको म्याद थप नगरेर कार्यरत कर्मचारीहरुको मनोबल गिराउने काम गरेको यहाँका चिकित्सकले बताइरहेका छन् ।

निवेदन दिएको महिना दिन भइसक्दा पनि प्रदेश मातहत रहेको अस्पतालले करार अवधि थप नगरेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सरकारको व्यवहारका कारण विरोध गर्न बाध्य भएको बताइरहेका छन् ।
केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले पटक—पटक लिखित रुपमा निवेदन दिँदा पनि करार म्याद थप भएन् । जसका कारण बुधबारदेखि त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले केन्द्रको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । करार म्याद थप गरिपाउ भनेर निवेदन लेख्दा उल्टै कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा कार्यरत डा. सर्वेशकुमार झालाई स्पष्टीकरण सोधेको छ ।

कोशीको स्वास्थ्य मन्त्रालयले ६–६ महिनामा करारका चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप गर्दै आएको थियो । यस पटक पुस मसान्तसम्मको मात्रै करार म्याद थपको अवधि रहेको थियो । करार म्याद थपको अवधि सकिएपछि पुनः थपका लागि पत्रचार गर्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै सुनवाइ नगरेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रका प्रमुख डा. सर्वेशकुमार झाले बताए । डा. सर्वेशले भने, ‘हामीले करार म्याद थपका लागि पटक—पटक स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा पनि भनेका छौं । अहिलेसम्म पनि म्याद थप भएर पत्र आएन । बाध्य भएर अहिले हामी आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने, ‘बुधबार शान्तिपूर्ण रुपमा विरोध गरेका छौं । बिहीबारदेखि म अस्पताल जानै छोडिदिएँ ।’

मन्त्रालयले करार सेवाको म्याद थप गरेर पत्र दिएपछि मात्रै सेवामा फर्किने डा. झाले बताए । सेवा बन्द गर्ने बारेमा यसअघि नै स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पनि जानकारी गराएको उनले बताए । ‘शैलजा आचार्य हृदय रोग केन्द्र, विराटनगरमा कार्यरत करारका कर्मचारीहरुको म्याद २०८१ पुस मसान्तसम्म मात्र रहेकोले सो को जानकारी नियमानुसार सबै प्रक्रिया पूरा गरेर यस अस्पतालबाट समयमा नै पठाइसकेको र सो को जानकारी पटक—पटक गराउँदा पनि हालसम्म मन्त्रालयबाट म्याद थपको पत्र नआएकोले अब उप्रान्त म्याद थप बिनाको करार कर्मचारीहरुसँग कामकाज गर्न असमर्थ भएकोले मिति माघ २३ गतेदेखि यस अस्पताल सञ्चालनमा बाधा पुग्ने हुँदा सो को जानकारीको लागि अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चिकित्सकले पठाएको पत्रमा उल्लेख छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण दैनिक ओपिडीमा आउने २५ देखि ५० जनासम्म बिरामी अहिले समस्यामा परेका छन् । उनीहरु अस्पताल पुगेर उपचार नपाएरै घर फर्किन बाध्य भएका छन् ।मोरङ रतुवामाई नगरपालिका ५ का ७७ वर्षीय रत्नबहादुर श्रेष्ठ पाँच वर्षदेखि मुटुका बिरामी छन् । उनी मुटु रोग विशेषज्ञ डा. झासँग स्वास्थ्य परामर्श लिएर औषधि सेवन गर्दै आएका छन् । बुधबार फलोअपको लागि हृदय रोग उपचार केन्द्र आएका थिए । तर, चिकित्सकहरुको आन्दोलनको कारणले उनले चिकित्सकलाई देखाएर औषधि खान पाएनन् । ‘तीन घण्टा लगाएर हस्पिटल आएँ । चिकित्सकको आन्दोलन रहेछ । आन्दोलनको कारणले चिकित्सकलाई भेट्न नपाइ घर फर्किनु प¥यो,’ अस्पताल परिसरमा भेटिएका श्रेष्ठले भने, ‘अब आन्दोलन सकिएपछि फर्केर चिकित्सकलाई देखाएर फेरि औषधि सेवन गर्नेछु ।’

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा.राधिका थपलियाले चिकित्सक र स्वास्थ्यकर्मीहरुको करारको म्याद थप भइसकेको बताइन् । ‘करार म्याद थप गर्ने निर्णय भइसकेको छ । पत्र नपुगेको हुन सक्छ,’ डा.थपलियाले भनिन्, ‘डा. सर्वेशको बुधबार करार म्याद थप गर्ने निर्णय भएको छ । पत्र नगएको हुनसक्छ । हामी यस विषयमा बुभ्mनेछौं ।’

तर, डा. सर्वेशले भने बिहीबारसम्म मन्त्रालयबाट कुनै पनि पत्र नआएको बताए । ‘मलाई मन्त्रालयबाट कुनै पनि जानकारी अहिलेसम्म आएको छैन । करारमा म्याद थप गरेको विषयमा जानकारी पनि छैन । मैले करार सकिएको र पुनः करार म्याद थपको लागि जानकारी दिएको तीन दिन भइसक्यो,’ उनले थपे, ‘उहाँहरुको वेवास्ताका कारण म्याद थप नभएपछि हामीले सेवा दिन सकेका छैनौं । यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार र मन्त्रालयले लिनुपर्छ । उहाँहरुको कारणले यस्तो समस्या भएको हो ।’

करार सेवाको म्याद थप नगर्ने उल्टै आफुलाई मन्त्रालयले स्पष्टीकरण खोधेको उनले बताए । ‘मैले बारम्बार करार म्याद थप गरिदिनुभन्दै मन्त्रालयमा जानकारी गराएको थिए । अति भएपछि मैले करार म्याद थप नभएको सेवामा अवरुध हुने जानकारी दिएर बोधार्थ मुख्यमन्त्री कार्यालयमा पनि पढाइ दिए । बिहीबार मन्त्रालयले के कति कारणले अस्पतालको ओपीडि सेवा बन्द गरेको भनेर स्पष्टीकरण सोधेको भन्ने जानकारी पाएको छु,’ उनले भने ।

हृदय रोग उपचार केन्द्रमा एक जना मुटु रोग विशेषज्ञ, तीन जना नर्स र नौ जना कर्मचारी कार्यरत छन् ।

शुक्रबार, २५ माघ, २०८१, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर