लोड हुँदैछ...

मेनु

कोशीका सबै सरकारी अस्पतालमा अब दुई सिफ्ट ओपिडी सेवा

कोशीका सबै सरकारी अस्पतालमा अब दुई सिफ्ट ओपिडी सेवा

विराटनगर । कोशी प्रदेश सरकार मातहतका सबै सरकारी अस्पतालको ओपिडी सेवा दैनिक दुई चरणमा संचालन हुने भएको छ ।प्रदेशका १४ जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरुको बहिरंग सेवा (ओपिडी) दुई चरणमा संचालन गर्ने निर्णय सरकारले गरेको हो
अस्पतालबाट प्रवाह गर्ने सेवाको गुणस्तर सुधार गर्ने र विरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ओपिडी सेवा बुधबारदेखि दुई सिफ्टमा संचालन गर्न कोशीको स्वास्थ्य मन्त्रालयले निर्देशन दिइसकेको छ । उक्त निर्णयसँगै अब प्रदेशको सबै सरकारी अस्पतालहरुमा विहान ९ देखि ३ बजेसम्म ओपीडि टिकट काट्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
बहिरङ्ग सेवा बिहान १० देखि २ बजेसम्म एउटा सिफ्ट र २ बजेदेखि ५ बजेसम्म अर्को सिफ्ट संचालन गर्न कोशी प्रदेशको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले निर्देशन दिएका हुन् । सोही अनुसार स्वास्थ्य मन्त्रालयले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, कटारी अस्पताल उदयपुरलाई मंगलबार वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले पत्रचार गरेका छन् ।

यसअघि सरकारी अस्पतालहरुमा १ बजेसम्म मात्रै ओपीडि सेवा दिँदै आएका थिए । त्यसपछि ओपिडी सेवा बन्द हुने र १ बजेपछि आउने विरामीले अन्यत्र गएर सेवा लिनुपर्ने बाध्यता थियो । प्रदेशभित्रका बिरामीहरुले गुणस्तरीय स्वास्थ्य उपचार पाउने उद्देश्यले दुई सिफ्टमा ओपिडी सेवा सुरु गरिएको कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बताए । ‘प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुको ओपिडी सेवा अब पाँच बजेसम्म संचालन हुनेछ । कोही पनि अस्पताल आएका विरामी स्वास्थ्य उपचारबाट बन्चित हुने छैनन्,’ मन्त्री राईले भने, ‘प्रदेशभित्रका सबै सरकारी अस्पतालहरुमा अब पाँच बजेसम्म ओपिडी सेवा पाउँनेछन् ।’ यसलाई कडाइको साथ कार्यन्वयनमा लैजान निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।