विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले जिल्ल ामा सबै पक्षसँग सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।आइतबार सञ्चारकर्मीसँगको भेटमा यादवले संघीय सरकारको प्रतिनिधिका हिसाबले कानुनको दायराभन्दा बाहिर गएर काम नगर्ने प्रतिबद्धता जनाए ।
सबै पक्षको सल्लाह र सुझाव लिएर काम गर्ने बताउँदै यादवले प्रजिअको भूमिका सन्तुलित हुनुपर्ने विषयलाई बुझेको उल्लेख गरे । पुस २४ गते मोरङमा हाजिर भएका उनले भारतसँग सीमा जोडिएको र जनघनत्व पनि धेरै भएको मोरङ प्रदेशको राजधानी पनि भएकोले सुरक्षा चुनौति रहने बताए ।
जिल्लाका चुनौतीको विश्लेषण एवं पहिचान गर्दै सबै पक्षसँग समन्वय गरेर काम गर्न चाहेको प्रजिअ यादवले बताए । बढ्दो सुरक्षा चुनौतीको विश्लेषण गरेर त्यही हिसाबले सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।
सीमादेखि विभिन्न खालका अपराध नियन्त्रण, विकास निर्माणमा आवश्यक समन्वय, सरकारी कार्यालयबाट चुस्त दुरुस्त सेवा प्रवाह तथा सबै पक्षलाई सहजीकरण गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको यादव बताउँछन् । उनले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता पनि जनाए ।
प्रत्येक महिना आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गर्ने जानकारी दिँदै प्रजिअ यादवले ‘सिस्टम’को ‘डेलिभरी’ राम्रोसँग गर्न पहल गर्ने बताए । यादव यसअघि चितवनको प्रजिअ थिए । त्यसअघि उनले सुनसरी, सर्लाही, इलामलगायत विभिन्न जिल्लामा प्रजिअको भूमिका निर्वाह गरिसकेका छन् ।