ऋषिकेशपत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो । अदालतले उनलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् । अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोज कुमार सोनी र यशोदा कुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।

बुधबार, २४ पुष, २०८१, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर