विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएका सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेली श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी हुन् ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अञ्जलासहितका प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको थियो ।
अदालतमा मुद्दा दायरपछि विराटनगरको विराट रात्री माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन् । उनी बुधबार कार्यालय समय सुरु हुनसाथ अदालतमा उपस्थित भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा एक जना पुर्पक्षको लागि थुनामा छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना अझै फरार छन् ।
सो प्रकरणमा प्रहरीले धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई मात्र पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दा दायरपछि अदालतमा उपस्थित भएका थिए । उनी ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधीश मेघनाथ चापागाईंको इजलासले बिहीबार वडाध्यक्ष खवासलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो नसरुदिन, मनोज कुमार सोनी र यशोदा कुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।
दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।