दुर्घटना रोक्न चालकको स्वास्थ्य जाँच,लागुपदार्थ सेवन गरी सवारी चलाउने एघार जना भेटिए

विराटनगर । मोरङमा सवारी दुर्घटनाको संख्या बढेपछि यसको रोकथाम र नियन्त्रण गर्दै सवारी चालकहरुको स्वास्थ्य जाँच गर्नुको साथै लागूपद्धार्थ सेवन (लापसे) र मादक पद्धार्थ सेवन (मापसे) जाँच अभियान सुरु भएको छ ।

चिकित्सक र औषधी व्यवसायीहरुसँगको समन्वयमा मोरङ ट्राफिकले मंगलबार औपचारिक रुपमा मोरङ र सुनसरीको सीमा क्षेत्र बुढीगंगा गाउँपालिका–४ नेमुवामा स्वास्थ्य शिविर तथा लापसे जाँच गरी कार्यक्रमको शुभराम्भ गरेको हो ।

सार्वजानिक यातयात चलाउने चालक र सहचालकहरुले मापसे र लापसे गरेर सवारी साधन चलाउने गरेको पाइएपछि दुर्घटना रोक्न यस्तो अभियानको थलानी गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । मोरङमा चालु आर्थिक वर्षको मंसिरसम्म ९०८ सवारी दुर्घटनामा परीे ५८ जनाको मृत्यु भएको छ भने १ हजार ५२६ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०८०÷०८१ म दुर्घटना बढेको छ । आर्थिक वर्षमा १४ सय ३० दुर्घटना हुँदा ११७ को मृत्यु भएको छ भने २२ सय ५८ जना घाइते भएको अभिलेखमा देखिन्छ ।

अघिल्लो आर्थिक वर्षमा ७९÷०८० मा १२ सय २७ दुर्घटनामा ११२ जनाको मृत्यु भएको छ भने १८ सय ७९ जना घाइते भएको थियो । यसरी दुर्घटनाको संख्या हेर्दा ट्राफिक नियमको पालना गरेको कारणले दुर्घटना भएको देखिने प्रहरी निरीक्षक लम्सालले बताए । ‘त्यही भएको कारणले हामीले सडक सुशासनको कायम गराउँदै ट्राफिक नियमको परिपालना गराउँदै उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पनि हामीले स्वास्थ्य क्षेत्रको संघसंस्थाहरुसँग समन्य गरेर यो अभियानको थलानी गरेको हो,’ प्रहरी निरीक्षक लम्सालले भने, ‘स्वास्थ्य जाँच शिविर र लापसे अभियानले अब जिल्लामा तिव्रता पाउनेछ । जसले गर्दा सवारी दुर्घटना न्युनीकरण हुने हामीले अपेक्षा गरेका छौं ।’

मंगलबार नेमुवामा गरिएको शिविरमा ५० जना सडक प्रयोगकर्ता ९३ जना चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए । शिविरमा गरिएको परीक्षणमा ११ जना सवारीका चालकहरुले लापसे गरेको पाइएको छ । लागूऔषध खाएर सवारी चालाउने चालकलाई आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सीमावर्ती बजार भारतको जोगवनीमा गएर लागूऔषध सेवन गर्ने र सवारी चलाएको फेला परेपछि त्यसविरुद्ध अभियान चलाउनु परेको प्रहरी निरीक्षक लम्सालले बताए । ‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कोशी प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले सवारी दुर्घटनाको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको खाचो रहेको बताए । ‘सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक रहेको छ । तर सवारी साधनबाट हुने दुर्घटना हाम्रो सामु ठुलो चुनौतीकोरुपमा रहेको छ,’ डिआइजी अधिकारीले भने, ‘यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सबैभन्दा बढी चालकको लापर्वाहीको कारणबाट भएको तथ्यांकले देखाउँछ । तीमध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।’

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्युनीकरणमा सबै सचेत भएर लागि परेमात्रै सम्भव हुने बताए । स्वास्थ्य शिविरमा विराट टिचिङ हस्पिटलका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य जाँच गरेर चिकित्सकले सिफारिस गरेको औषधिहरु नेपाल औषधि व्यवसायी संघ मोरङले निःशुल्क वितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा बिराट टिचिङ हस्पिटलको सहकार्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी एसपी विनोद घिमिरे, विभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानीय जनप्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

बुधबार, २४ पुष, २०८१, बिहानको १०:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर