विर्तामोड । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको विर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी अस्पतालमै बसिरहेका छन् ।
नेकपा एमालेका झापा जिल्ला सदस्यसमेत रहेका शिवाकोटीलाई झापा जिल्ला अदालत भद्रपुरले सोमबार पुर्पक्षका लागि झापा कारागार चलान गर्ने आदेश सुनाएको भएपनि उनी अस्पतालमै छन् ।
सिवाकोटी मंसिर २४ गते पक्राउ परेकै दिनबाट विरामी भएको भन्दै विर्तामोडस्थित बीएण्डसी अस्पतालमा बसेका थिए । हिरासत अबधिभर अस्पतालमा बसेका उनी कारागार चलानको आदेशपछि पनि अस्पतालमै छन् ।
आफ्नै घरमा घरेलु कामदारको रुपमा राखिएकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटीलाई सोमबार जिल्ला अदालत झापाले पुर्पक्षको लागि कारागार चलानको आदेश दिएको थियो । जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई कारागारमा राख्न आदेश दिएको हो ।
अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश सुनाएपछि शिवाकोटीलाई कारागार लगिएको थियो । तर, लगत्तै उनलाई अस्पताल नै फिर्ता गरिएको हो । अदालतको पत्र बमोजिम केही मेडिकल चेकजाँच गर्नुपर्ने भएकोले शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले जानकारी दिए ।
चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पतालमा राखिने कारागार प्रशासनको भनाइ छ ।