विराटनगर । नेपाल र चीनको सीमामा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा केहि क्षति भएको छ ।
बिहान ६ः५० बजे गएको भूकम्पले चिनको तिब्बततर्फ ठूलो क्षति भएको भएपनि नेपालमा मानवीय क्षति भएको विवरण आएको छैन ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको छ ।
ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ भने ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका ५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । प्रहरीका अनुसार ओखलढुंगाकै सिद्धीचरण नगरपालिका चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ ।
उता सोलुखुम्बुको थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ भने संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ । संखुवासभाकै भोटखोला–१ किमाथांका बस्ने ५२ वर्षीय तेन्छेदी शेर्पाको ढुङ्गाको गारो, टिनको छाना भएको २ तले घरमा क्षति पुगेको हो ।
प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम शुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।
भूकम्पबाट मानवीय क्षति भएको विवरण नआएको नेपाल प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर डेढ तले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको छ। ती व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको छ।
उता बारामा भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । उनीहरूको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार भूकम्पबाट मानवीय क्षति नभएपनि केही भौतिक क्षति भएको सामान्य विवरण प्राप्त भएको छ ।
भुकम्पबाट सिधुपाल्चोकको एक प्रहरी चौकीको भित्तो भत्किएको छ भने रामेछाप र ओखलढुंगामा पनि १÷१ वटा गोठ भत्किएको छ । प्रहरीले भूकम्प प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन कार्य जारी रहेको जानकारी दिएको छ ।