विराटनगर । छ वर्षको उमेरदेखि घरमा राखेकी १५ वर्षीया नाबालिकालाई पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका कोशी प्रदेश कमिटि सदस्य एवं झापाको विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटी जेल चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार सिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए । घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मंसिर २४ गते पक्राउ परेका सिवाकोटीलाई विरामी भएको भन्दै प्रहरीले पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखिएको थियो ।
पक्राउ परेका शिवाकोटीलाई १२ देखि १४ बर्षसम्म कैद सजायको मागसहित अदालतमा मुद्दा दर्ता भएको थियो । भारतको आसाममा बुबाआमाको निधन भएपछि हजुरआमाले नेपाल ल्याएकी बालिका ‘अनारमनी २१ ( पीडितको परिवर्तित नाम) संरक्षण गर्ने भन्दै सिवाकोटीले जिम्मा लिएका थिए ।
करिब ६ वर्षकी पीडित बालिकाकै आमाले आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको लागि २०७४ मा नगरपालिका पुग्दा शिवाकोटी भर्खरै मेयरमा निर्वाचित भएका थिए । उनले बालिकाजस्तै अन्य तीन जनालाई लालनपालनका लागि घरमा राखेको भन्दै उनको पनि जिम्मा लिएको अभियोगपत्रमा उल्लेख छ ।
पीडित बालिकाकी हजुरआमासमेत शिवाकोटीकी छोरी भएकोले आफन्त नाता लगाउँदै बालिकालाई जिम्मा लगाएकी थिइन् । पीडितले दिएको बयानअनुसार, शिवाकोटीको घरमा भविष्य राम्रो हुन्छ भन्दै हजुरआमाले बस्न भनेकी थिइन् ।
उनी सिवाकोटीको घरमा काम गर्ने दुई जना कामदार महिलासँगै भुइँतलामा सुत्ने गर्थिन । पीडितका अनुसार उनलाई ‘सानी’ भनेर सिवाकोटीले बोलाउथे । कक्षा ६ मा पढ्दैबाट आफूमाथि दुर्व्यवहारको प्रयास भएको पीडितले बताएकी छन् ।
पीडितका अनुसार शिवाकोटीलाई ढाड दुख्ने समस्या थियो । ‘त्यतिवेला उहाँले मलाई वेला–बेलामा ढाड थिचिदिनु भनेर नजिकै कोठामा बोलाउने गर्नुहुन्थ्यो’, पीडितले भनेकी छन्, ‘उनको श्रीमती अस्ट्रेलिया जानु भएको थियो, ठ्याक्कै मिति याद भएन । तर, त्यतिबेला उहाँले मलाई पहिलो पटक करणी गर्नुभयो ।’
पीडितका अनुसार, ढाड थिचिदिन भन्दै बोलाएपछि कोठामा जाँदा शिवाकोटीले ढोकाको चुकुल लगाएका थिए । ‘त्यसपछि मैले आफ्नो कोठामा सुत्न जान्छु भन्दा समेत मलाई बाहिर जान नदिई जबरजस्ती गर्नुभयो’, उनले भनेकी छन्, ‘त्यतिबेला मलाई एकदमै पीडा भएको थियो ।’
त्यसको दुई हप्तापछि फेरि आफूमाथि शिवाकोटीले करणी गरेको उनले बयान दिएकी छन् । त्यो कुरा कसैलाई भने घरबाट निकालिदिने भन्दै धम्क्याएको उनको भनाइ छ । आफ्नो बुबाआमा नभएकाले बिचल्ली हुन्छु भन्ने सोचेर उक्त घटनाबारे कसैलाई सुनाउन नसकेको उनले बताएकी छन् ।
शिवाकोटीले श्रीमती घरमा नभएका बेला बोलाएर जबरजस्ती गर्ने गरेको बयान पीडितले दिएकी छन् । पछिल्लो पटक श्रीमती काठमाडौं गएका बेला १५ मंसिरमा राति शिवाकोटीले आफूलाई जबरजस्ती गर्न खोजेको पीडितले बयानमा भनेकी छन् । ‘उहाँले बाल्टी ल्याइदेऊ भन्नुभएपछि म माथिल्लो तलामा गएर कोठामा राखिदिएँ’, उनले भनेकी छन्, ‘त्यसवेला उहाँले आफूसँग बच्चा नबस्ने अप्रेसन गरेको भन्दै जबरजस्ती गर्न खोज्नुभयो ।’
पटक–पटकको बलात्कारपछि पीडित बालिकालाई भारत ठुलीआमाकोमा जान भनेर हिँडेको अवस्थामा सिमा नाका काँकडभिट्टाबाट उद्धार गरिएको थियो । मंसिर २४ गते कलेज ड्रेसमै नाकामा पुगेकी उनलाई मानब बेचबिखनविरुद्ध सक्रिय ‘किन नेपाल’ नामक संस्थाले सोधपुछ गरेपछि घटना खुलेको थियो ।
संस्थाका कर्मचारीले रोकेर सोध्दा सुरुमा उनले आफू किसनगञ्जमा रहेका परिवारलाई भेट्न हिँडेको खुलाएकी थिइन् । आफन्तको सम्पर्क नम्बरसहितको विवरण माग्दा उनले दिन नसकेकी उनलाई सोधपुछ गर्दा आफू सानैदेखि ध्रुव शिवाकोटीको बिर्तामोड-५ स्थित घरमा बसेको खुलाएकी थिइन् ।
प्रहरी कार्यालयमा पुगेर शिवाकोटीको नम्बर लिएर फोन गरेर ‘अनारमनी २१’ भारततर्फ जाँदैछिन् भनेर प्रहरीले जानकारी गराएको थियो । त्यसपछि बालिकाले भनिन्, ‘त्यो घरमा जादिनँ, मलाई कक्षा ८ पढ्दादेखि नै शिवाकोटीले जबरजस्ती करणी गर्ने गरेकोले भागेर हिँडेको हुँ ।’ अन्तिम पटक १५ मंसिरमा जबरजस्ती करणी गरेकाले सहन नसकी कलेज जान्छु भनेर घर छाडेर हिँडेको उनले बताएकी थिइन् ।
त्यसपछि प्रहरीले घटनास्थल इलाका प्रहरी कार्यालय, अनारमनी अन्तर्गत पर्ने भन्दै विर्तामोड प्रहरीकहाँ पठाइदिएको थियो । विर्तामोडमा प्रहरीले प्रारम्भिक बयान लिने भन्दै शिवाकोटीलाई बोलाएर पक्राउ गरेको थियो ।