विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदमा सम्बोधन गर्न बेलायत जाने भएका छन् ।
बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदमा सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । उनी बेलायतको संसद भवनमा बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा सम्बोधन गर्न पाउने नेपालको पहिलो र दक्षिण एशियाका दोस्रो नेता बन्नेछन् ।
नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि निकै गर्वको कुरा भएको बताएका छन् ।
नेपाल–बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् । बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसदमा बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्ने भएका हुन् ।