राजतन्त्र माग्दै इटहरीमा नक्कली बमको आतंक

विराटनगर । सुनसरीको इटहरीमा मंगलबार बिहान राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । विहान साढे ४ बजे इटहरी प्रहरीमा बम राखिएको सूचना आएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा बम नभएको खुलेको हो ।

इटहरी उपमहानगरपालिकाको गेटअगाडि र बुढिखोलाको पुल नजिक शंकास्पद वस्तु राखिएको थियो । भेटिएका दुई शंकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख सुमनकुमार तिम्सिनाले बताए । उपमहानगरअगाडि भेटिएको शंकास्पद वस्तु बम नभएर कुकरलाई बम जस्तो आकृति बनाई झुक्याउनको लागि बनाइएको वस्तु भएको खुलेको उनको भनाइ छ ।

उपमहानगरअगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ ।उपमहानगरपालिकाको गेटअगाडि भेटिएको शंकास्पद वस्तुसँगै केही पर्चा प्रहरीले भेटेको छ । राष्ट्रिय सुरक्षा दलको लेटरप्याडमा विभिन्न मागहरू राखिएको पर्चा फेला परेको हो ।

पर्चामा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, वैदिक सनातन हिन्दु राष्ट्र, संघीयता खारेजी, बलियो स्थानीय तहलगायतका माग गरिएका छन् । पर्चामा आफ्ना मागहरूलाई सरकारले ४० दिनभित्र पूरा गर्न चेतावनीसमेत दिइएको छ ।

प्रहरीले आतंक फैलाउनेहरू पहिचानको क्रममा रहेको जनाएको छ । विगतमा यस्तै घटनाम संलग्नहरूमाथि ुस्क्रिनिङु गर्दै अनुसन्धान भइरहेको एक प्रहरीको भनाइ छ । पर्चा राजावादी समूहले राखेको अनुमान छ ।

मङ्गलबार, १६ पुष, २०८१, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर