विराटनगर । गुण्डागर्दीमा संलग्न विराटनगर ११ का रेगन कँडेलले तरवार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका छन् ।
विराटनगर– ११ बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई तरवार प्रहार गरेर घाइते बनाएका हुन् ।
घाइते कामतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको छ । उनको हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

सामान्य विवादमा राति तरवार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कँडेलले धारिलो हतियार प्रहार गर्दा कामतको बायाँ हातमा गहिरो चोट लागेको उनले बताए ।
प्रहरीले राति नै कँडेललाई पक्राउ गरेको डिएसपी जोशीले बताए । ज्यान मार्ने उद्योगमा मोरङ अदालतमा बुधबार म्याद थप गरि अनुसन्धान सुरु गरेको उनले बताए ।
कँडेल गुण्डागर्दीमा संलगन व्यक्ति हुन् । यसअघि पनि मध्यरातमा विराटनगरको एक क्यासिनोमा जुवा खेलर बाहिरिदा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते रत्ना होटलको ‘सम्राट’ नामक क्यासिनोबाट निस्किएर झगडा हुँदा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए ।