विराटनगर ।पदाधिकारीको स्वार्थ र राजनैतिक खिचातानीको सिकार बनेको मोरङको सुन्दरहरैचना नगरपालिका ७ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत ढेड दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादरीमा काम गर्दै आएका छन् ।विश्वविद्यालयको शिक्षण अस्पतालमा थप दरबन्दी कायम गर्न नसक्दा १८ जना चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा काम गर्न बाध्य भएका हुन् ।
दैनिक ज्यालादारीमा काम गर्ने १० जना विशेषज्ञ र ८ जना मेडिकल अफिसर चिकित्सक गरेका छन् । जसमा विशेषज्ञ चिकित्सकहरुमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह, डा. दुर्गा खतिवडा, सर्जन डा. सुनित अग्रवाल, बालरोग विशेषज्ञ डा. प्रदिप कुमार, छालारोग विशेषज्ञ डा. निरज खड्का, नाक कान घाटी रोग विशेष डा. प्रदिप गजुरेल, रेडियोलोजिष्ट डा. तजेन्द्र कार्की, हाडजोर्नी विशेषज्ञ डा. उपेन्द्रकुमार साह र फिजिसियन डा.चन्दनकुमार विश्वास दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।
त्यसैगरी मेडिकल अफसिरहरूमा डा. अमित कुमार यादव, डा. बसन्त यादव, डा. कृष्ण माझी, डा. हुकुम सिंह, डा. सिशिर यादव, डा.अनिश अधिकारी, डा.नकुल राई र डेन्टल सर्जन डा. बिनिता यादव दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् । उनीहरु वर्षौदेखि दैनिक ज्यालादरीमा काम गर्न बाध्य छन् । ज्यालादरीमा काम गर्दा उनीहरुले सरकारले दिने सेवा सुविधाबाट बन्चित हुनुपरेको छ ।
‘चिकित्सकलाई एउटा कार्यालय सहयोगी जस्तो गरी दैनिक काम गरे बापत रकम दिने गरी ज्यालादारीमा लगाएका छन् । यो चिकित्सकहरुको मानमर्दन भयो । त्यसैले हामी आवद्ध रहेको संस्था नेपाल चिकित्सक संघमार्फत शिक्षण अस्पतालमा दरबन्दी कायम गरि नियुक्ति गर्न माग गरिएको छ,’ एक जना कार्यरत चिकित्सकले गुनासो गर्दै भने, ‘दैनिक काममा आइन्छ । काम गरेबापत ज्यालादरी पाइन्छ । त्यस बाहके अन्य कुनै सेवा सुविधा छैन । हामी माथि धेरै अन्याय भएको छ ।’
३०० शैय्याको बिस्तार हुँदै गएको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा २५० देखि ३०० सम्म दैनिक ओपिडीमा विरामीहरु आउने गरेको अभिलेखमा देखिन्छ । शिक्षण अस्पतालबाट दिशा, पिसाब, रगत, थाइराइड, मधुमेह लगायत परीक्षण गर्ने व्यवस्थित प्रयोगशाला (ल्याब) र एक्स–रे, भिडियो एक्स–रे, फिजियो थेरापी एवं इसिजी सेवासमेत उपलब्ध रहेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोखरेलले शिक्षण अस्पतालमा अहिलेसम्म विशेषज्ञ दुई वटा मात्रै दरबन्दी रहेको छ । एक जना फिजिसियन र हाडजोर्नीका विशेषज्ञ दरबन्दी छ । फजिसियन डा. शशि शर्मा अस्पताल निर्देशक रहेका छन् । अहिले दरबन्दी थप गर्ने तयारी गरिएको विश्वविद्यालयका रजिष्टार पोखरेलले बताए । ‘१८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी आव्हान गरी करारमा राख्को लागि विज्ञापन आव्हान भएको छ,’ उनले भने, ‘त्यसपछि बिस्तारै मेडिकल अपिसर र नर्सहरुको पनि विज्ञापन आव्हान गर्ने हाम्रो तयारी रहेको छ ।’ विगत वर्षहरुदेखि चिकित्सकहरुको दरबन्दी नभएको कारणले दैनिक ज्यालादरीमा राख्नुपर्ने बाध्यता भएको उनले बताए ।
दैनिक ज्यालादरीमा विशेषज्ञ चिकित्सकले दैनिक ३ हजार पाँच सय र मेडिकल अपिसरले दैनिक २ हजार ५०० रुपैयाँ रहेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।