विराटनगर । एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् ‘बेस्टोसेफ सिभि’ २०० एमजीको एन्टिबायोटिक प्रभावहीन बन्दै गएपछि नेपाल औषधि व्यवस्था विभाग (डिडिए) ले एक वर्ष अगाडि बिक्री वितरणमा रोक लगाएको औषधि विराटनगरका केही ठुला अस्पतालभित्र रहेका फार्मेसीहरुबाट खुलेआम बिक्री वितरण हुने गरेको पाइएको छ ।
विराटनगर ५ बरगाछीस्थित लाइफगार्ड हस्पिटलले संचालन गरेको फार्मेसीबाट बिरामीको उपचारमा कामै नगर्ने भएका कारण डिडिएले बिक्री वितरणमा रोक लगाएको ‘बेस्टोसेफ सिभि–२००’ मिलिग्राम (एमजी) को एन्टिबयोटिक खुलेआम बिक्री वितरण हुने गरेको पाइएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सन् २०२१ मा १०३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक औषधिहरु र समिश्रणहरुको सूचि प्रकाशन गरेको छ । प्रतिजैविक प्रतिरोधलाई न्युनीकरण गर्ने, तथ्यमा आधरित उपचार प्रणाली र समुचित प्रयोगलाई बढवा दिने उद्देश्यले औषधि सल्लाहकार समितिको ५५ औं बैठकबाट विभागलाई सिफारिस भएर २०८० भदौ १८ गते ‘बेस्टोसेफ सिभि–२००’ एमजीको एन्टिबयोटिकसहित १०३ प्रकारका औषधिहरु बिक्री वितरणमा रोक लगाएको छ । ६ महिनाको अवधिमा बजारमा उपलब्ध रहका त्यस्ता प्रतिजैवक औषधिहरुको मौज्दात भए फिर्ता लिई सोको आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्बन्धित प्रमाणपहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने भनिएको छ । तर, बिक्री वितरणमा रोक लगाएको एक वर्ष भइसक्दा पनि बिरामीको उपचारमा कामै नगर्ने ‘बेस्टोसेफ सिभि–२००’ एमजीको एन्टिबयोटिक लाइफगार्ड हस्पिटलको फार्मेसीमा बिक्री वितरणको लागि राखिएको पाइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय र डिडिए विराटनगरले छापा हानेर बेस्टोसेफ सिभि २०० एमजीको २ हजार ८० ट्याब्लेट बरामद गरेको थियो । बिक्रीमा रोक लगाएको बेस्टोसेफ सिभिसहित बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्री पनि ठूलो परिमाणमा बरामद गरेको थियो । लाइफगार्डबाट प्रहरीले १० लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको खाद्य पुरक सामग्री बरामद गरेको थियो ।
यसरी बिक्री वितरणमा रोक लगाएको औषधि खुलेआम बिक्रीको लागि राखेको भेटिँदा पनि नियामक निकाय औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलका संचालक रञ्जित अग्रवालले हर्ने गरेको सो फार्मेसीलाई उन्मुक्ति दिने प्रयास गरेको छ । यसअघि दर्ता बेगरको औषधि एक भाइल भेट्दा पनि औषधि पसल शिलबन्दी गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने डिडिएले लाइफगार्ड हस्पिटलको फार्मेसीलाई भने बयानको लागि व्यवसायीलाई बोलाउने मात्रै काम गरेको पाइएको छ । त्यो बाहेक अरु अनुसन्धान प्रक्रिया अगाडि बढाएको छैन । ‘यसअघि फार्मेसीहरु अनुगमन गर्दा एक पत्ता दर्ता बेगारको औषधि बरामद गर्दा डिडिएले पसल शीलबन्दी गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको थियो । त्यसपछि कसुर अनुसारको मुद्दा पनि दायर हुने गरेको थियो । तर, पहुँचको आधारमा अहिले लाइफगार्डको उक्त फार्मेसीलाई डिडिएले उन्मुक्ति दिने प्रयास गरिरहेको देखिएको छ । अहिले व्यवसायीलाई बयानमा बोलाउने र बरामद औषधि नष्ट गर्ने तयारी गरेको छ,’ स्रोतले भन्यो ।
औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख कमल गुरागाईंले बिक्री वितरणमा रोक लागएको औषधि र खाद्यपुरक सामग्री लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीबाट बरामद भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको बताए । बिक्रीमा रोक लगाएको औषधि बरामद हुँदा विगतमा फार्मेसी शिल्ड गरेर अनुसन्धान हुने गरेको थियो । अहिले किन भएन ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अनुसन्धान दुई किसिमको हुन्छ । बन्द गरेर र पसल खुला गरेर । अहिले हामीले पसल खुला गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं । प्रमाण नष्ट नहुने भएकोले खुला गरिएको हो ।’ निर्णयकर्ता कार्यालय प्रमुख पनि बिदामा भएकोले उनी आएपछि थप सल्लाह गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘अहिले अनुसन्धान अधिकृत तोकेर बयान लिने कामहरु भइरहेको छ,’ उनले भने ।