कोशीमा जापानीज इन्सेफलाइटिसबाट ६ को मृत्युः महंगो उपचारले पीडित समस्यामा

विराटनगर । कोशी प्रदेशमा जापानी इन्सेफ्लाइटिस (जेइ) संक्रमण बढ्दै गाएको छ । जेइ संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाले दिएको जानकारी अनुसार बुधबारसम्म सुनसरीमा ३, झापामा २ र उदयपुरमा एक जनाको जेइ संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुरुष चार र दुई जना महिला रहेका छन् । चार जना नाबलक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानी इन्सेफ्लाइटिस संक्रमणका १६ जना विरामी रहेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको कोशी प्रदेशमा अहिलेसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशानलय कोशी प्रदेशका निर्देशक डा.सुरेश मेहताले जानकारी दिए । ‘जेइ को संक्रमणको मृत्युदर पनि उच्च छ । रोकथामका लागि काम थालिसकेका छौं,’ उनले भने ।

संक्रमित विरामीका आफन्तको याचना
जापानी इन्सेफलाइटिस (जेइ) संक्रमति उदयपुर बेलका नगरपालिका–६ का १२ वर्षीय बालक ७१ दिनदेखि अस्पतालको शैय्यामा जीवन मरणको दोसाधमा रहेका छन् ।

उनको उपचार विराट मेडिकल कलेज भेन्टिलेसनमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जेइ संक्रमित विरामीका आफन्तहरुले छोराको उपचार गर्न नसक्ने भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् । ‘हस्पिटल आउँदा राम्रोसँग छोरालाइ लिएर आयौं । यहाँ आइपुग्दा भेन्टिलेटरमा राखेर उपचार गर्न चिकित्सकले सुझाब दिए । हस्पिटल आएको एक महिनापछि जापानी इन्सेफ्लाइटिस भएको पत्ता लागो । ऋण खोजेर तीन लाख रुपैयाँ ल्याएर अस्पतामा बुझायौं । भएको पैसाँ सकियो । अहिले छोराको उपचार गर्नको लागि पैसाँ पनि छैन । उपचार गर्न नसक्ने भयौं । फार्मेशीमा साढे ३ लाख रुपैयाँ भन्दा बढी खर्च निकालेको छ । त्यो तिर्न नसक्ने अवस्था रहेको छ । अझै अस्पतालमा ८÷९ लाख रुपैयाँ खर्च हुने अस्पतालले भनेको छ । यत्रो पैसाँ हामी विपन्न नागरिकले कहाँबाट ल्याउनु ? । हामी त गम्भिर समस्या फसेका छौं, ’ विरामीका बावुले अस्पताल परिसरमा भने, ‘उपचारमा १६ लाख बढी खर्च हुने रहेछ । जापानी इन्सेफलाइटिस रोगको उपचार हामीबाट गर्न नसक्ने अवस्था रहेको छ ।’

छोराको उपचार राज्यले गरिदिनुपर्ने परिवारले माग राखेका छन् । छोराको उपचार गर्दा भएभरको सम्पत्ती रिहित्तएपछि हार मानेर उनले असोज २० गते स्वास्थ्य मन्त्रालयलबाट सहयोगको चिठी लिएर अस्पतालमा आएका छन् । तर, अस्पतालले केही रकम छुट मात्र गर्नसक्ने भन्दै पूर्ण रुपमा छुट दिन नसक्ने अस्पतालले बताएको छ ।

उपचारमा संलग्न विराट मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदीले जापानी इन्सेफलाइटिस संक्रमति बालकको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । अहिले भेन्टिलेसनमा राखेर उपचार गरेको उनले बताए । पछिल्लो समयमा जेइ संक्रमित विरामीको अस्पताल आउने क्रम बढेको उनको भनाइ । शनिबार जेइ संक्रमित एक विरामीको उपचारको क्रममा विराटमा मृत्यु भएको थियो ।

जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गरेको छ । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छ । उपचारपछि निको भएपनि पक्षाघातको समस्या रहन सक्ने चिकित्सकले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । जापानी इन्सेफलाइटिस मुख्यतया सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यी जनावरलाई टोकेर मानिसमा सार्छ । यो रोगले मस्तिष्कमा असर गर्छ । उच्च ज्वरो, टाउको दुखाइ, जीउ काम्ने र गम्भीर अवस्थामा विरामी कोमामा पुग्नसक्छ ।

स्वास्थ्य विशेषज्ञहरूले यो रोगको कुनै निश्चित उपचार नभएको तर लक्षण अनुसारको उपचार गरिने बताएका छन् । रोग नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।

चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । संक्रमणको जोखिम उच्च रहने भएकाले सतर्क रहन र कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरे ।

बिहिबार, ०८ कार्तिक, २०८१, दिउँसोको १२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर