विराटनगर । मोरङको धनपालथान–४ कर्सिया बजारका हसन अन्सारीले १० वर्ष मलेसिया बसेर कमाएको पैसा स्थानीय नमूना सहकारी संस्था लि.मा बचत गरे । हाल कर्सिया बजारमै कपडा पसल चलाएर बसिरहेका उनले आफूले बचत गरेको रकम फिर्ता गर्न ६ वर्षदेखि धाइरहेका छन् । तर, नमूना सहकारी संस्थाले बचत गरेको पैसा फिर्ता दिन सकेको छैन ।
बचतमा १४–१५ लाख रुपैयाँ राखेका अन्सारीलाई सहकारीले रकम फिर्ता दिनु त कता हो कता बचत नै नभएको भन्न थालेको छ । पैसा माग्दा ‘मलाई दिएको छ ? जसलाई दिएको हो, उसैलाई माग’ भनेपछि सिडियोकोमा उजुरी दिएको उनले बताए ।
सहकारीबाट ठगिएका करिब डेढ सय जना बचतकर्ताले निवेदन दिएपछि सहकारीका अध्यक्ष अध्यक्ष गुलावचन्द मण्डलले ५ महिनामा चुक्ता गर्ने प्रतिबद्धता जनाएर कागज गरेको अन्सारीले जानकारी दिए । पीडित बनेका उनी देशभरका सहकारीको लाइसेन्स नै खारेज गर्नुपर्ने मत राख्छन् । ‘मेरो विचारमा सहकारीलाई लाइसेन्स नै दिनुहुँदैन सर । धेरै भ्रष्टचार भइसक्यो,’ उनले भने ।
सोही ठाउँका प्रविणकुमार चौधरीले पनि औषधि पसल र क्लिनिक चलाएर बचेको पैसा त्यही नमूना सहकारीमा बचत गरेका थिए । सानै छँदादेखि देखेको जानेको सहकारीमा विश्वास गरेर बचत गरेको पैसा अहिले फिर्ता पाएका छैनन् । ‘१० लाखभन्दा माथि छ मेरो पैसा, फिर्ता दिँदैनन्,’ उनले भने, ‘म सानै हुँदादेखि नाम चलेको सहकारी हो । अरुले भन्दा राम्रो ब्याज दिएको कारण पैसा राखेको थिएँ ।’
अन्सारी र चौधरीजस्तै नमुना सहकारीमा बचत गरेका दर्जनौं सर्वसाधरणको पैसा जोखिममा परेको छ । ३१ जना पीडितले त गत भदौ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फिर्ताको माग गर्दै उजुरी दर्ता गराएका छन् । उक्त उजुरीमाथि छलफल हुँदा सहकारीका अध्यक्ष मण्डलले ५ महिनाभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष भन्छन्, ‘बेइमान हुन दिन्न, पैसा फिर्ता दिन्छु’
सहकारीका अध्यक्ष मण्डललाई स्थानीयले सोझो व्यवहार भएको विश्वासिलो व्यक्तिकै रुपमा चिनेका थिए । अहिले पनि मण्डल बचतकर्ताको पैसा कसरी फिर्ता गराउन सकिन्छ भनेर लागिरहेकै छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका उनलाई सहकारीका लेखापाल सविलाल राजवंशी र सहलेखापाल राजकुमार राजवंशीको बद्मासीले पिरोलेको हो ।
लेखापाल सविलाल राजवंशीले १ करोड ११ लाख र सहलेखापाल राजकुमार राजवंशीले ८२ लाख घोटला गरेको थाहा भएपछि सहकारीकै तर्फबाट अदालतमा मुद्दा हालेको मण्डलले बताए । ‘सञ्चालक समितिलाई जानकारी नै नदिइ अडिट गराउँथे । नाफा देखाउँथे’ उनले भने, ‘प्रतिकिलो ६० रुपैयाँमा धान विक्री र ४४ रुपैयाँ केजीले चामल बेचेको देखिएको छ ।’
शंका लागेर अडिट गराउँदा सो विषय थाहा भएको र मुद्दामा गएको उनी बताउँछन् । राजवंशीद्वयलाई ठगी मुद्दा दर्ता गरिएको थियो । तर, ठगीको खारेज गरेर उक्त रकम बेरुजूमा राखिदिएको मण्डल बताउँछन् । ‘७०–८० दिन अगागि फैसला आयो । उक्त रकम बेरुजू ठहर गर्यो । ठगी मुद्दा भने रद्द गरेको छ,’ उनले भने ।
नमुना सहकारीमा ५०५ जना शेयर सदस्य छन् । बचत रकम ४ करोड र शेयरपूँजी ५ लाख ५ हजार रुपैयाँ रहेको अध्यक्ष मण्डल बताउँछन् । सहकारीको जग्गा जमिन १५ कठ्ठा जति छ । कर्सिया चोक बजारमै रहेको कारण उक्त जग्गाको मूल्य लगभग २० करोड रुपैयाँ बराबरको रहेको मण्डल दाबी गर्छन् ।
‘म सबैलाई भरोसा दिन्छु, कसैको बेइमानी हुन दिन्न । अहिले पनि अडिट भइरहेको छ । म नियमित अफिस गइरहेको छु’ उनले भने, ‘२० औं करोड सहकारीको सम्पत्ती रहेकोले बचतकर्ताको पैसा ५ महिनाको भाकामा दिन सक्छौं ।’ सहकारी अहिले पनि चलिरहेको र भवनकै १२ वटा सटर भाडामा लागेकोले आम्दानी पनि नियमित रहेको उनले बताए ।
धनपालथान गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम चौधरीले पनि सहकारीमा कर्मचारीले ठगी गरेको बताएका छन् । ‘अहिले पनि सहकारी चलिरहेको छ । कालोसूचीमा परेको छैन’ उनले भने, ‘बचतकर्ताको रकम फिर्ता गर्ने भनेर ५ महिनाको भाका राखिएको छ ।’