उत्कृष्ट ४० जना कर्मचारीलाई पुरस्कार दिइँदै

विराटनगर । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। दिवसको अवसरमा सरकारले १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।

तर, यो वर्ष पनि सरकार सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई भने पुरस्कृत नगर्ने भएको छ । सरकारले सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी छनोट गर्न भने असफल भएको हो।

२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।

१० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ । पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता हरेक वर्ष निजामती र उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएको छ । सर्वोत्कृष्ट सरकारी भने नभेटिएको भन्दै पुरस्कार नै दिइएको छैन ।

आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

शनिबार, २२ भदौ, २०८१, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर