विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
सरकारले निर्णय गरेको १५ दिनपछि प्राधिकरणले आजबाट प्रतिबन्ध हटाउन निर्देशन दिएको हो । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।
सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन प्राधिकरणले निर्देशन दिएको छ । २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले कार्तिक २८ गते सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदाकहरूलाई टिकटकको पहुँचमा रोक लगाउन निर्देशन दिएको थियो । टिकटकमाथि रोक लगाउन निर्देशन दिएको करिब १० महिनापछि आज प्राधिकरणले खुलाउन निर्देशन दिएको छ ।