विराटनगर । विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गरेका छन् ।
मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताएका हुन् ।
देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरु बढ्दै जानु चिन्ताको विषय भएको बताए । अभिभावकहरु सचेत भएमा युवाहरु कुलतमा फस्ने क्रममा कमी आउने उनको भनाइ थियो । यस विषयमा तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिने उनले बताए ।