विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा मा प्रा.रविराज सिंहले पुनः नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा. चन्द्रभाल झालाई हटाएर सिंहलाई बुधबार जिम्मेवारी दिएका हुन् ।
सर्जन डा.सिंह यसअघि पनि कोशी अस्पतालको मेसु भएका थिए । उनले चार महिना कोशीको जिम्मेवारी सम्हालेपछि सिंहको ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा.झालाई १८ असार, २०८० मा मेसुको जिम्मेवारी दिइएको थियो । झाको कार्यकाल एक वर्ष पूरा भएपछि मेसु परिवर्तन भएको छ ।
यसअघि सिंह गत फागुन २ गते कोशीको निमिक्त मेसु भएर ४ महिना जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा न्यूरो सर्जरीका जटिल प्रकारको शल्यक्रिया भएर विरामीको सफल उपचार भएको थियो ।
सिंहलाई मेसुमा नियुक्ति गरेसँगै स्वास्थ्य मन्त्रालयले मेसु झालाई विरगन्जको नारयणी अस्पतालमा सरुवा गरेको छ ।
संघीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने गरेको छ । स्वास्थ्यमन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुँदा अस्पतालको योजनाबद्ध विकास तथा सुधारको काम भने अगाडि बढ्न सकेको छैन ।