विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ ।
कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।
मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री कार्कीको नियुक्तिको प्रक्रिया र विश्वासको मत प्राप्त गरेको कागजात झिकाउने आदेश गरेको थियो ।
कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका छन् । उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको उनको दावी छ ।
कोशीको भन्दा अगाडि शर्मा र सुवेदीको इजलासमा सर्वोच्च आफैँले टिप्पणी उठाएको अदालतको अवहेलनासम्बन्धी निवेदन रहेको थियो । सिधा कुराको समाचार सम्बन्धमा अदालतको अवहेलना गरेको भनी उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको टिप्पणीमा रिट दायर भएकोमा त्यसको बहस लम्बिएपछि कार्कीको रिटमा सुनुवाइ हुन नसकेको हो ।