औषधी व्यवसायी माथि निर्घात कुटपिट : आक्रमण गर्ने सजाद फरार, एक जना प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका सञ्चालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधवार निर्घात कुटपिट भएको हो ।

हस्पिटल चोकमा रहेको साइनो फार्मेसीका सञ्चालक एमडी सजादले ६–७ जना गुण्डागर्दीमा संलग्न व्यक्तिहरू परिचालन गरी रजकलाई कुटपिट गरेका हुन् । एमडी सजादले रजकको फार्मेसीबाट एक लाख भन्दा बढी रकमको औषधी दुई वर्ष अगाडी बाँकी लगेका थिए । बाँकी लगेको औषधीको पैसा माग्न गएको तर सञ्चालकले पैसा नदिएपछि पसल आइपुग्दा रजकमाथि ६–७ जनाको समूहले निर्घात कुटपिट गरेको पीडितले बताए । ‘दुई वर्ष अगाडीदेखिको एक लाख भन्दा बढी बक्यौता रहेको थियो ।

बुधवार दिउँसो पैसा माग्न पसल गएको थिए । बाँकी बक्यौता दिनुपर्‍यो भनेको थिए । त्यही निहुँ बनाएर मेरो पसलमा आएर मही माथि निर्घात कुटपिट गरे,’ अस्पतालको शय्यामा उपचार भइरहेको रजकले भने, ‘सडकमा रहेको इट्टाले प्रहार गरेर म माथि साङ्घातिक हमला गरेका छन् ।’ उनीहरूको कुटपिटबाट रजकको टाउकोमा गहिरो चोटपटक लागेको छ । अहिले उनको उपचार विराटनगरस्थित न्युरो अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमण गर्ने मुख्य व्यक्ति साइनो फार्मेसीका सञ्चालक एमडी सजादसहित अन्य ६ जना फरार रहेका छन् । उनीहरूको खोजी कार्यमा प्रहरी लागी परेका छन् । पीडित परिवारले अहिले ठाडो उजुरी दिएका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गर्ने तयारी गरेका छन् ।

बुधबार, ०९ जेठ, २०८१, रातीको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर