जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिएका छन् ।

महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुनपसिनाले आर्जन गरेको कमाई हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका हुन । उनले हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्म रुपमा अध्ययन गरिरहेको बताए ।

महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं,’ मेयर कोइरालाले भने, ‘जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा मोजमस्ती गर्न कसैलाई छुट छैन ।’ मेयर कोइरालाले केही सहकारीका कारण राम्रा सहकारीको पनि बद्नाम भइरहेको उल्लेख गरे । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।

जेठ १ गतेबाट सञ्चालित पाँचदिने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिइन ।

तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा मेयर कोइरालाले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरेका थिए । ।

आइतबार, ०६ जेठ, २०८१, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर