कोशी प्रदेश : आज मन्त्रिपरिषद विस्तार गरिने, भागबण्डा टुंग्याउन छलफल हुँदै

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् । एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा सहमति नजिक पुगेको कारण आजै मन्त्रीमण्डल विस्तार हुने माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।

संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले एमालेका रामबहादुर मगर र माओवादीका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । आज एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राई, निरन राई, छवि चुँडाल र उमाकान्त गौतममध्येबाट दुई जना राज्यमन्त्री नियुक्त गर्ने सम्भावना छ । यस्तै माओवादीबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्री तथा सपना दर्जी र बन्दना झाँगडमध्ये एक जनालाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको बुझिएको छ ।

यद्यपि आर्थिक मामिला तथा योजना मन्त्रालय कसले लिने भन्ने अझै टुंगो लागिसकेको छैन । सो मन्त्रालय माओवादीको भागमा परेमा दुर्गा प्रसाद चापागाईं मन्त्री हुने सम्भावना रहेको छ । तर, एमालेले सरकारको नेतृत्व गर्नेले नै आर्थिक मामिला मन्त्रालय राख्न उपर्युक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयसहितका तीन मन्त्रालय लिन माओवादीलाई आग्रह गरिरहेको छ । माओवादीले अर्थ वा भौतिकमध्ये एक, पर्यटन, वन तथा वातावरण र स्वास्थ्य वा सामाजिकमध्ये एक मन्त्रालय पाउने स्रोतले जनाएको छ । आर्थिक मामिला मन्त्रालयमा दोहोरो दाबी परेपछि नेतृत्वसँग सल्लाह गर्न माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल काठमाडौं पुगेका छन् । नेतृत्वसँग काठमाडौंमा सल्लाह भएलगत्तै सरकार विस्तार हुने जनाइएको छ । यता, सरकार विस्तार र भागबण्डालाई टुंगोमा पुर्याउन मुख्यमन्त्री कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच पनि छलफलको तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

शुक्रबार, ०४ जेठ, २०८१, बिहानको ११:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर