तरबार प्रहार प्रकरण : पूर्ववडाअध्यक्षसहित नौं जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

विराटनगर ।दुई जना युवालाई तरबार प्रहार गरेको आरोपमा विराटनगर–१४ का पूर्व वडाध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित नौं जनाविरुद्ध मोरङ जिल्ला अदालतमा डाका र ‘ज्यान मार्ने उद्योग’मा मुद्दा दर्ता भएको छ ।

वडाअध्यक्ष यादवलाई फरार प्रतिवादी बनाएर नौं जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा बुधबार अभियोग दर्ता गरेको हो । यो मुद्दामा विराटनगर १४ का ४३ वर्षीय जतुवाका फुलेश्वर यादव पक्राउ परेका छन् । पूर्ववडाध्यक्ष यादवसहित अन्य आठ जनालाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी राखेर अभियोग दर्ता गरेको हो । जसमा विराटनगर १४ जतुवाका ३२ वर्षे दिपेश यादव, ३१ वर्षीय राजौ भन्ने राजेश यादव, ४६ वर्षीय उपनारयण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव र ३४ वर्षीय जोगिलाल भन्ने योगीलाल यादव विरुद्ध मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएकाले बिहीबार थुनछेक बहस हुने मोरङ अदालतमा सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतिवादीको बयान सुरूभएपछि इजालश तोकेर थुनछेक हुनेछ ।

२९ चैतमा विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेवको योजनामा उक्त समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेको पीडितको आरोप छ । तरबार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन् । उनको अहिले पनि विराट टिचिङ हस्पिटलमा उपचार हुँदै आएको छ ।
पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको थियो ।आक्रमणको योजना बनाएको आरोप लागेका पूर्व वडाध्यक्ष बलदेव यसअघि पनि कर्तव्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा उनीसहित मोरङ प्रहरीले १० जनालाई ‘कर्तव्य ज्यान मुद्दा’ का प्रतिवादी बनाएको थियो । २०७७ मङ्सिर ११ गते मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका थिए । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी रहेका यादव हत्या आरोप लागेपछि वर्षौंसम्म फरार रहे । प्रहरीको तीव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोबास गरेको कारणले पक्राउ परेका थिएनन् । मोरङ अदालतमा सुटुक्क उपस्थित भएकै दिन थुनछेक आदेश भयो । त्यसपछि उनी धरौटीमा छुटेका थिए ।

विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते विराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीनजना वडा अध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
यस्तो छ कानुनी व्यवस्था

डाँका र ज्यान मार्ने उद्योगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २४४ को उपदफा (१) ले निषेधित उपदफा २(ग) वमोजिमको कार्य कसूर गरेकोले निज प्रतिवादीहरुलाई ऐ.संहिताको दफा २४४ को उपदफा ३(ख) बमोजिम पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

बिहिबार, ०३ जेठ, २०८१, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर