विराटनगर । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले समर्थकहरूलाई धन्यवाद दिएका छन् । आफ्नो समर्थनमा भेला भएकाहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूले निर्दोष छु भनेर पहिलो दिनदेखि नै भन्दै आएको कुरा प्रमाणित भएको बताए । उनले भने,‘पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ । अब उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्नेछु ।’
लामिछानेले आफूलाई साथ दिनेहरूप्रति आभार व्यक्त गर्दै नेपाली टीमलाई अझै माथि पुर्याउन प्रयास गर्ने बताए । उच्च अदालत पाटनले बुधवार लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याएको थियो ।
बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने बाटो खुलेको छ । आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको हो ।
टी–२० विश्वकप खेल्नका लागि नेपालले १५ सदस्यीय टोलीको नाम दिइसकेको छ । अब मे २५ सम्ममा थपघट गर्न पाइने प्रावधान छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै सन्दीपको नाम दिएमा उनले विश्वकप खेल्न पाउनेछन् । सन्दीपले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट बुधबार सफाइ पाएका हुन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले बुधबार उनलाई सफाइ दिएका हुन् ।
बलात्कारको आरोप लगाएकी गौशाला २६ र सन्दीपका वकिलले मंगलबारदेखि बहस गरेका थिए । दुवैतर्फको बहस सुनेपछि न्यायाधीशद्वयले सन्दीपलाई सफाइ दिएका हुन् ।
२०८९ को भदौमा एक किशोरीले सन्दीपलाई बलात्कारको आरोप लगाएकी थिइन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको कैदको फैसला सुनाएको थियो । यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत गएका हुन् ।
भदौ २१ गते पीडित भनिएकी गौशाला २६ ले सन्दीपले आफूलाई जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।