इटहरी उपमहानगरपालिका : खेती खोलाको अवैध संरचना हटाउन ३५ दिने उर्दी

आफैं नभत्काए डोजर चलाउने चेतावनी

इटहरी । इटहरी उप–महानगरपालिकाले खेती खोलामा बनेको अवैध संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्रचार गरेको हो ।

खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रूपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्रचार गरेका हुन् । खोलाको भाग मिचेर बनेको संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाइ छ ।

इटहरीको खेती खोलाको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६–६ मिटर नछोडि बनेका भवन संरचना ३५ दिनभित्र स्वयं हटाउन सुचना जारी गरेका हुन् ।

एक महिनाअगाडि नै इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको थियो । उपमहानगरपालिकाले खेती खोलामा दर्जनौं घर टहरा भत्काउँदै आएको छ । खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउँदै आएका छन् ।

इटहरी उपमहानगरले दिएको समयभित्र खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैंले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।

मङ्गलबार, २५ बैशाख, २०८१, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर