आचार्यको पहलमा बुढीगङ्गाका दुई बिद्यालयलाई स्कुल बस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयले भारत सरकारको अनुदान सहयोगमा दुईवटा बस प्राप्त गरेका छन् ।

कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक÷एक वटा १८ सिट क्षमताको माइक्रो बस प्राप्त गर्न सफल भएका हुन् ।

विराटनगर महानगरपालिकाले एउटा बस स्कुल बस प्राप्त गर्दा छिमेकी गाउँपालिकाका दुई वटा विद्यालयले दुई वटा बस प्राप्त गर्नुमा सांसद आचार्यको पहलले काम गरेको कर्मवीर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलभद्र सरदारले बताए ।

अध्यक्ष सरदारले भने ‘हामीले माननीय आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेका थियौं, उहाँकै पहलबाट बस प्राप्त गर्न हामी सफल भएका छौं ।’

कक्षा १२ सम्म पठनपाठन हुने कर्मवीर माध्यामिक विद्यालयसँग अहिलेसम्म एउटा पनि स्कुल बस थिएन । बस नहुँदा टाढाका बस्तीबार विद्यार्थीलाई विद्यालय ल्याउन र साना नानीहरुलाई सामुदायिक विद्यालयमै ल्याउन समस्या भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकसमेतले बसको जरुरी रहेको बताएका थिए ।

अध्यक्ष सरदारले भने ‘अहिले एउटै मात्र भए पनि निकै राहात पुगेको छ, विद्यालयमा अरु पनि बस आवश्यक छ । थप बस ल्याउनका लागि सरकार र दातृ निकायसँग पहल गरिदिन माननीय ज्यूलाई हामीले आग्रह पनि गरिरहेका छौं ।’

नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलास केसीले पनि भारतीय राजदूतावासको सहयोगमा स्कुल बस प्राप्त गरेको बताए । विद्यालयमा थप स्कुल बस आवश्यक भएको बेला आफ्नो निर्वाचन क्षेत्रका सांसद तथा पूर्व मन्त्री जीवन आचार्यले बस उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरेको उनले बताए । बस हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा अरु प्रतिनिधिहरु पनि काठमाडौं पुगेका थिए । सांसद जिवन आचार्यमार्फत बस प्राप्त गर्न सफल भएपछि दुवै विद्यालयका प्रतिनिधिहरुले आचार्यबाट चाबी हस्तान्तरण गरेको डेमो तस्बिरसमेत खिचाएका थिए ।

भारतीय राजदूतावासले हरेक वर्ष यहाँका शिक्षालयहरुको सहयोगका लागि बस र स्थानीय तह, अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि ६६ वटा स्कुल बस र ४५ वटा एम्बुलेन्स वितरण गरेको थियो । भारतीय राजदूतावासले वितरण गरेका बस र एम्बुलेन्सहरु यस पटक पहाडी जिल्ला र पश्चिम नेपालतर्फ धेरै गएको थियो ।

भारतीय राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रहेका वर्षमान पुनले विभिन्न पालिका र विद्यालयका प्रतिनिधिहरुलाई बस तथा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

सोमबार, ०३ बैशाख, २०८१, बिहानको ०६:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर