‘गुण्डागर्दी’ चलाउँदै पूर्व वडाध्यक्ष यादव, दिनदहाडै तरवार प्रहार

अस्पतालको शैय्याबाट घाइते सन्तलाल भन्छन्, ‘तरवार टाउकोमा बज्रियोे, हेलमेटले जोगायो’

विराटनगर । विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेव यादवको योजनाअनुसार दश जनाको समूहले विराटनगरमा दिनदहाडै तरवार प्रहार गर्दा दुई जना घाइते भएका छन् । तरवार प्रहारबाट विराटनगर १४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादव बुधबार घाइते भएका हुन् ।

विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेवको योजनाअनुसार १० जनाको समूहले उनीहरुलाई जग्गा विवादको विषयलाई लिएर आक्रमण गरेको पीडित पक्षको भनाइ छ । उनीहरुमाथि विराटनगर १४ का जोगी भनिने योगी यादव, फुलेश्वर यादव, शंकर यादव, जयप्रकाश यादव, राजेश यादव, दिपेश यादव, विजो भनिने विजय यादव, निलु यादव, रविन भनिने शंकर यादवको समूहले आक्रमण गरेको पीडितले आरोप लगाएका छन् ।

घाइतेमध्ये सन्तलालले पूर्व वडाध्यक्ष बलदेवको घर छेउमा नयाँ घर बनाउँदैछन् । सन्तलालको पुरानो घर विराटनगर १४ रेलवेयदेखि पूर्वमा रहेको छ । अहिले नयाँ घर उनले विराटनगर १४ धरमवाद रोडमा बनाउँदैछन् । उनी र प्रकाश मोटसाइकलमा चढेर नयाँ घर बनाएको तर्फ बुधबार दिउँसो आउँदै थिए । ‘घरदेखि झण्डै दुई सय मिटर पर पुगेपछि बलदेवको मकैबारीमा बसेका १० जनाको समूहले तरवार लिएर आए । हामीमाथि तरवारले आक्रमण गरे । तरवारले टाउकोमा पनि प्रहार गरे । हेलमेट लगाएकोले टाउको जोगियो । धेरै पटक हामीमाथि तरवार प्रहार गरेको थिए । जोगिँदाजोगिदै पनि हातमा तरवारले लाग्यो,’ अस्पतालमा उपचार गराइरहेका घाइते सन्तलालले भने, ‘जग्गाको विवादलाई लिएर पूर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा हामीमाथि नियोगित रुपमा आक्रमण भएको छ । भागेर ज्यान जोगियो ।’ आक्रमणकारीले मार्ने उद्देश्यले हमला गर्न निर्देशन दिने र आक्रमण गर्नेलाई कारवाहीको लागि प्रशासनसँग जोडदार माग पीडित पक्षले गरेका छन् ।
सन्तलालको नयाँ घरको बिहीबार ढलाइ थियो । त्यहि भएर उनी प्रकाशसँग निर्माणधीन घरतिर जाँदा आक्रमण भएकोे छ । दुई महिनाअगाडि जग्गाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पनि छलफल भएको भएको थियो । त्यहि जग्गा विवादलाई लिएर बलदेवले आक्रमण गर्ने बताउँदै आएका पीडितको भनाइ छ ।

घाइते भएका सन्तलालको विराट टिचिङ्ग हिस्पटल र प्रकाशको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ । तरवार प्रहारबाट सन्तलाललाई गहिरो चोट लागेको छ । उनको बायाँ हात र औँलामा गहिरो चोट लागेको छ । तरबारले काटिएर हातको नसामा पनि असर पुगेपछि भास्कुलर सर्जरी गर्नुपर्ने भएकोले उनलाई थप उपचारको लागि विराट लगिएको चिकित्सकले बताएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाको अनुसन्धान सुरु गरिएको बताए । ‘हामी घटना के भएको हो । बुझेर अनुसन्धान गर्दै आएका छौं,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको दायारमा ल्याउनेछौं ।’

आक्रमणको योजना बनाएको आरोप लागेका पूर्व वडाध्यक्ष बलदेव यसअघि पनि कर्तब्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा उनीसहित मोरङ प्रहरीले १० जनालाई ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी बनाएको थियो । २०७७ मंसिर ११ गते मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई तीन लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएका थिए । कर्तब्य ज्यान मुद्दाका प्रतिवादी रहेका यादवल हत्या आरोप लागेपछि वर्षौसम्म फरार रहे ।

प्रहरीको तीव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोवास गरेका कारणले उनी पक्राउ परेका थिएनन् । मोरङ अदालतमा सुटुक्क उपस्थित भएकै दिन थुनछेक आदेश भयो । त्यसपछि उनी धरौटीमा छुटेका थिए ।

विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते विराटनगर महानगरपालिका– १४ का वडाध्यक्ष यादवको घरमा बसेको पञ्च भलाद्मीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीन जना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

बिहिबार, २९ चैत, २०८०, बिहानको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर