स्वास्थ्यकर्मीसहित विराटनगर ८ का जनप्रतिनिधि जेष्ठ नागरिकको घर–घरमा पुग्दै

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान शुरु गरेको छ ।
स्वास्थ्यकर्मी सहित वडाका जनप्रतिनिधिहरु जेष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने कार्यक्रमको शुरुवात गरेको हो ।

वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधि लगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले शुभारम्भ गरेकि छिन् । उनले विराटनगर ८ अमरटोलीका १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ गरेकि हुन ।

८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्री लगायतका सामानहरु घर–घरमा वितरण शुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । वडा भित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको लगत संकलन गरि १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम शुरु गरिएको उनले बताए । आगामी आर्थिक वर्षदेखि उमेर समूहले विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको भनाई छ ।

जेष्ठ नागरिकहरुलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाईट वितरण गरिएको छ ।

अभियान अन्तरगत आज विराटनगर अमरटोलका १४ जना जेष्ठ नागरिकको घरमा पुगिएको वडा अध्यक्ष पोख्रेलले बताए । विराटनगर ८ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको उनले बताए ।

आइतबार, १८ चैत, २०८०, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर