पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया सुरु

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका आवेदन दिनेहरुले छनौट समितिमा आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुत गर्ने समय तोकिएको छ ।

उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिले आवेदन दिएका १८ जनामध्ये १७ जनाको आवेदन स्वीकृत गर्दै प्रस्तुतिकरण गराउने समय तोकेको हो ।

उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन चैत २७ गते शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल र प्रमोदकुमार झाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ । यस्तै चैत २८ गते बिजुकमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल र उमेश कोइरालाको प्रस्तुतीकरण हुनेछ ।

चैत २९ गते सञ्जेशकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले उम्मेदवारको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सुन्नेछ ।

तत्कालिन शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले आवेदन माग गरेको थियो । उपकुलपति डा. यादवराज कोइरालाको कार्यकाल सकिएपछि फागुन १८ गतेबाटबाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त छ ।

उपकुलपतिको लागि गत माघ २३ गते दरखास्त आह्वान भएको थियो ।

आइतबार, १८ चैत, २०८०, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर