धरान । सुनसरीको सखुवाको काठ तस्करी गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् ।चारकोशे जंगलबाट काठ तस्करी गरेको आरोपमा इटहरी उपमहानगरपालिको ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज तामाङलाई पक्राउ परेका हुन् ।
पक्राउ परेका तामङलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान थाकिएको जिल्ला वन डिभिजन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले बताए । तामाङविरुद्ध वन ऐन २०७६ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत सुनसरीबाट म्याद थलिएको उनले बताए । तामाङसहित अन्य तीनजनले सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गरेको वन कार्यालयको आरोप रहेको छ ।
सोहि सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेकबहादुर बस्नेत,उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष तामाङ र वन हेरालु पेम्बा तामाङलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जनाइएको छ ।
ब्रह्मपुर वनका अध्यक्ष तामाङ र उपाध्यक्ष बस्नेतसहित चारैजनाले इटहरी–२० मा रहेको हाँसपोसा सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट सखुवा र कुम्भीका गोलिया काटेर आफ्नो वनमा पुर्याउँदै लुकाएर राखेको यादवले बताएका छन् । तस्करीका लागि ट्याक्टरसमेतको प्रयोग गरिएकोले तस्करीमा सामुदायिक वनका पदाधिकारी संलग्न रहेको यादबले बताए ।
। दुवै वनबाट तस्करी गरिएको ६ सय ७४ क्वीफिट काठका गोलिया बरामद गरिएको जनाइएको छ । हाँसपोसा सामुदायिक वनदेखि सखुवा जातको १ सय ९३ क्वीफिट तथा राष्ट्रिय वनदेखि सखुवाको २ सय ३८ र कुम्भीको १ सय ६८ क्वीफिट काठ तस्करी गरेर ब्रह्मपुराको ढोडघारी पुर्याइएको प्राम्भिक अनुसन्धानबाट पत्ता लागेको यादवले बताए
काठ तस्करी को अनुसन्धान गर्न डिभिजन वन कार्यालयले सुनसरीले सब डिभिजन वन कार्यालय पाँचकन्या धरानका प्रमुख एवं वन अधिकृत महेशकुमार साहलाई अनुसन्धान अधिकृत तोकेको छ ।
काठ तस्करीको विषयलाई लिएर उपभोक्ताहरुले भने सब डिभिजन वन कार्यालय तरहराका प्रमुख दिनेशप्रसाद यादव र ब्रह्मपुरा वनका अध्यक्ष तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएका छन् । यादव र तामाङसमेतको मिलेमतोमा काठ तस्करी हुने गरेको आरोप उपभोक्ताको छ ।

