लोड हुँदैछ...

मेनु

पथरी घटना

बालिका बिहे गर्न नपाउँदा विभत्स हत्या

बालिका बिहे गर्न नपाउँदा विभत्स हत्या

विराटनगर ।मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भनिने ज्ञानमती थुलुङ राईको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । राईको हत्या आरोपमा मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई मोरङ प्रहरीले मंगलबार सार्वजानिक गरेको छ । राईको परिवारले विवाह नगरिदिने भएपछि आफ्नै पे्रमीले धारिलो हतियार प्रयोग गरी निर्मम तरिकाले हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । ज्ञानमतीको हत्या भएको चार घण्टा बित्न नपाउँदै आरोपीलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले बताए । हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट सोमबार राति साढें २ बजे पक्राउ गरेको उनले बताए ।

चौधरी र राई एक वर्षभन्दा बढी समयदेखि प्रेममा रहेको प्रहरीले बताएको छ । किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । चौधरी विवाहित हुन् । उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा छन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमार्फत किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । ‘उनीहरू प्रेम सम्बन्धमा रहेपछि केही महिना अगाडि घरबाट भागेको पनि प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ जाने क्रममा विराटनगरको सीमा नाका रानीबाट मानव बेचबिखन विरुद्ध काम गर्ने गैरसरकारी संस्थाले किशोरीको उद्धार गरी परिवारलाई बुझाएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि पनि उनीहरुबीच सामाजिक संजालमा कुराकानी हुने गरेको देखिएको छ,’ एसपी कार्कीले भने, ‘किशोरीका परिवारले चौधरीलाई फोन नगर्न र नजिक नहुन पनि पटक पटक भन्दै आएका थिए ।’ किशोरी आफ्नो नभए अरुको पनि हुन नदिने भन्दै हत्या चौधरीले हत्या गरेको अनुसन्धान अधिकृत बताउँछन् ।

पक्राउ परेका चौधरीको १४ वर्षका छोरा रहेको खुलेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमती थुलुङ राईको सोमबार राति १० बजेर १० मिनेटमा निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतीका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् । २ वर्षअघि पहाडबाट झरेकी उनले नास्ता पसलमा दाजुलाई सहयोग गर्दै पढाइलाई निरन्तरता दिँदै आएकी थिइन् । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको प्रहरीले जानकारी दियो ।

हत्या गर्न बाराबाट पथरी आए

ज्ञानमती र धिरेनको इमो र सामाजिक संजालमा कुराकानी हुने गरेको थियो । धिरेन आमा र छोरासँग बारामा बस्दै आएका थिए । धिरेनका बाबु भने मोरङको ग्रामथान गाउँपालिका बस्छन् । तीन महिना अगाडि धिरेन ग्रामथान आएका थिए । त्यसयता उनी घर आएका थिएनन् । ‘सोमबार बाराबाट धिरेन पथरी आएको देखिएको छ । घटना भएको दिनपनि इमो र सामाजिक संजालमार्फत ज्ञानमती र धिरेनको कुराकानी भएको देखिन्छ । फोनमा बोल्दै बाहिर शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर चौधरीले धारिलो हतियार प्रहार गरेर बालिकाको विभत्स तरिकाले हत्या गरेका थिए । ‘पटक–पटक हतियार प्रहार गरेर निर्मम तरिकाले बालिकाको हत्या गरिएको छ । एकदमै विभत्स अवस्थामा घर परिसरमा शव भेटिएको छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ ।’
हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरेको चार घण्टापछि पक्राउ

ज्ञानमतीको हत्या भएपछि मोरङ प्रहरी प्रमुख एसपी कार्की स्वयम् घटनास्थलको अनुसन्धानमा निस्किए । अभियुक्त हत्यापछि भाग्ने भएकाले जिल्लाको सीमा नाका र भारततर्फका नाकाहरू शिल गरेर एसपी कार्कीले विशेष अप्रेसन टोली परिचालन गरे । पूर्व पश्चिम राजमार्गमा चेकिङ राखियो । हत्या गरेपछि अभियुक्त जंगलहुँदै राजमार्गतिर भाग्ने क्रममा बेलबारी नगरपालिकाको भाउन्ने स्थित पूर्व पश्चिम राजमार्गबाट नियन्त्रणमा लिन प्रहरी टोली सफल भयो एसपी कार्कीले भने । प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियार भने अहिलेसम्म फेला पारेको छैन । ‘हतियार खोजीमा पनि लागि परेका छौं,’ एसपी कार्कीले भने, ‘चौधरीले हत्या गरेपछि घटनास्थलमा उनले लगाएको जुत्ताको छाप देखिएको छ । त्यसले पनि अनुसन्धानमा अभियुक्त पहिचान गर्न मद्दत पुगेको थियो ।’

पक्राउ परेका अभियुक्तलाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।