विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी सडक खण्डमा गत शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बिराटनगरको न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनु भएका झापाको कमल गाउँपालिका २ का ४६ वर्षीय हरि खनालको मङ्गलबार दिउँसो उपचारका क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको सख्या चार पुगेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार यसअघि दुर्घटना भएकै दिन उनकी पत्नी ४४ वर्षीया दीपा खनाल ,५२ वर्षीय यदुकान्त भट्टराई र जीप चालक विर्तामोडका ३६ वर्षीय कृष्ण गजुरेलको मत्यु भएको थियो । दुर्घटनामा घाइते भएकी सोही स्थानकी गायत्री भट्टराईको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।गायत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको थियो । बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बससँग सेमेत बोलेरो ठोकिएको प्रहरीले जनाएको छ ।