काठमाडौं । नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ ।

मंगलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेट गुमाएर रन १८९ बनाउँदै पूरा गरेको थियो ।

नेदरल्यान्ड्सको जीतमा मिचेल लेभिटले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए ।

नेपालका लागि कुशल मल्ले सर्वाधिक ४ तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि मंगलवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
नेपालका लागि आशिफ शेखले ४७ रन बनाए । ३१ बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे । यस्तै, गुल्सन झाले २४ रन बनाए । कुशल मल्ल २६, कप्तान रोहित पौडेल २५, कुशल भुर्तेल २० र करण केसी ९ रन बनाएर आउट भए ।

दीपेन्द्रसिंह ऐरी भने १ रन मात्रै बनाएर आउट भए । यस्तै आरिफ शेख शून्यमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लेभी र सिब्रयान्ड, फ्रेड क्लास्सेन, टिम फान गुग्टेन र माइकलले २–२ विकेट लिए ।

यसअघि तीन देश सम्मिलित शृंखलामा शीर्ष २ स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका थिए ।