विराटनगर । विराटनगर महानगरपालिकाले महत्वका साथ अगाडि बढाएको आकासे पुल निर्माणका लागि साइड क्लियर गर्न नसकेपछि ठेकेदार कम्पनीहरुले महानगरसँग क्षतिपूर्ति माग गरेका छन् । महानगरले सम्झौता बमोजिम दुई वर्षसम्म आकासे पुल निर्माण गर्ने स्थान उपलब्ध गराउन नसकेको भन्दै ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै महानगरमा पत्र पठाएका हुन् ।
विराटनगर महानगरपालिकाले तीन ओटा आकाशे पुल निर्माण गर्न दुई छुट्टाछुट्टै ठेक्का आव्हान गरेको थियो । महानगरको आव्हान अनुसार ठेक्का सकारेका कला बिल्डर्स र आरके बिल्डर्ससँग ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेकोमा २ वर्षसम्म साइड क्लियर नगरिदिएपछि ठेकेदार कम्पनीहरुले महानगरसँग क्षतिपूर्ति माग गर्दै निवेदन दिएका हुन् । ठेकेदार कम्पनीहरुले क्षतिपूर्ति दाबी गरेपछि अब आकाशे पुल निर्माण गर्न नसकेको महानगरले झण्डै ३ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने अवस्था आएको छ ।
आकासे पुल निर्माणको ठेक्का पाएको कला बिल्डर्सका सञ्चालक शैलेश यादवले आकासे पुल निर्माणका लागि विराटनगर महानगरपालिकाले ठाउँ नै उपलब्ध गराउन नसकेपछि कम्पनी पीडित भएको बताए । आकासे पुल निर्माणको ठेक्का पाएपछि डिजाइन अनुसार फलामका बिम तथा अन्य आवश्यक सामग्री खरिद गरिसकेको भए पनि जडान गर्न नपाएको उनले बताए । उनले भने ‘हामीले ६ महिनाभित्र पुल निर्माण गरिसक्ने सम्झौता गरेपछि आवश्यक सबै सामग्री खरिद गरिसकेका थियौं तर दुई वर्षसम्म महानगरले पुल बनाउने ठाउँ नै दिन सकेन जसले गर्दा हामीले पटक पटक ठेक्काको म्याद थप्दै गएपनि अन्तिममा गल्यौं र म्याद थप्न छोडेर क्षतिपूर्ति दाबी गरेका छौं ।’ उनले ठ्याक्कै रकममा क्षतिपूर्ति दाबी नगरेको बताए । ‘ठ्याक्कै रकम तोकेर क्षतिपूर्ति मागेका छैनौं तर हामीले झण्डै २ करोड रुपैयाँ खर्चेर खरिद गरेको पुलका सामग्री खेर गएको छ, त्यो खरिद गर्न बैंकबाट लिएको ऋणको नियमित ब्याज तिर्नुपरिरहेको छ र अन्य धेरै प्रकारका खर्चहरु भएका छन् त्यो सबैको प्राविधिक मूल्यांकन गरेर हामीले क्षतिपूर्ति पाउनु पर्छ भनेर महानगरमा पत्र पठाएका छौं ।’
ठेकेदार कम्पनीहरुले लामो समयदेखि पत्राचार गरेपनि महानगरले क्षतिपूर्ति दिन भने आलटाल गरिरहेको पाइएको छ । कला बिल्डर्सका सञ्चालक यादवले भने ‘हामीले यति धेरै चिठ्ठी लेखिसक्यौं कि दुई ओटा फाइल भरिसक्यो होला तर महानगरले भोलि, पर्सि भन्दै क्षतिपूर्ति दिन आलटाल गरिरहेको छ ।’ उनले आफूहरु आकाशे पुल बनाउन तयारी अवस्थामा रहेको भएपनि महानगरकै कारण पुल बनाउन नसकेको बताए ।
आकाशे पुल ठेक्का लिएर कञ्चनबारीमा एकातर्फ फाउन्डेसनको कामसमेत सम्पन्न गरेको आरके बिल्डर्सले पनि महानगरसँग क्षतिपूर्ति दाबी गरेको छ । आरकेविरुद्ध स्थानीय जग्गाधनीले निर्माण कार्य रोक्न भन्दै दिएको मुद्दा उच्च अदालत विराटनगरमा विचाराधीन रहेको छ । यद्यपि महानगरले साइड क्लियर गर्न नसकेको भन्दै आरकेले पनि क्षतिपूर्ति दाबी गरिसकेको छ ।
२०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बरगाछीमा आकाशे पुलको औपचारिक शिलान्यास गरेका थिए । तर त्यस ठाउँमा आकाशे पुल बनाउन केही स्थानीयले अवरोध गरेपछि निर्माण अगाडि बढेको थिएन । त्यसपछि पाञ्चाली मोडमा आकाशे पुल बनाउने प्रक्रिया अगाडि बढाइएको थियो तर त्यसबेला वर्तमान मेयर नागेश कोइरालाले त्यस ठाउँमा पुल बनाउन दिएका थिएनन् । पछि उनै कोइराला महानगरको मेयर निर्वाचित भएपछि उनले आकाशे पुलको योजना अघि बढाउन चाहेनन् । पछिल्लो समयमा विराटनगरका मेयर कोइरालाले विराटनगरको पाँच ठाउँमा ट्राफिक लाइन जडान गर्ने योजना अगाडि बढाएका छन् । त्यसका लागि केही दिन अघिमात्र ट्राफिक लाइट खरिद तथा जडानका लागि ठेक्का आव्हान भइसकेको छ ।
आकासे पुल निर्माण नगरेपनि महानगरपालिकाले ठेकेदार कम्पनीलाई तीन करोड रुपैयाँ हाराहारी क्षतिपूर्ति तिर्नुपर्दा एकातिर पुल निर्माण हुनेछैन भने अर्कोतिर पुल बनाउन पुग्ने भन्दा बढी रकम क्षतिपूर्ति दिनुपर्दा ठूलो नोक्सानी हुनेछ । महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको थियो ।
नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरी योजना अघिसारेको थियो ।