विराटनगर । कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय र झापा जिल्लाको सहकारीकर्मीहरुबीच गत फागुन १७ गते एउटा छलफल कार्यक्रम आयोजना भयो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको पहलमा जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित कार्यक्रमकै क्रममा नाराबाजी भयो । सहकारीकर्मीहरुले राखेका कुराकानीको जवाफ दिनुको साटो प्रमुख जिल्ला अधिकारी कार्यक्रम छोडेर हिंडे । त्यसपछि झनै कार्यक्रम बिथोलियो । दुई घण्टापछि पुनः कार्यक्रम सुरु भयो र केही निश्कर्ष निकालिए । तर, यो नै सहकारीको समाधानका लागि पर्याप्त थिएन । यो घटनाले झापाका सहकारीहरुमा देखिएको तत्कालका समस्या समाधान नगरिए ठूलै समस्या सिर्जना हुनसक्ने देखिन्छ ।
किनकि झापा जिल्लामा सहकारीका सदस्यहरुको संख्या त्यहाँको जनसंख्या भन्दा बढी छ । यस्तै प्रदेशका सबै सहकारीको सम्पत्ति र दायित्वमध्ये झापाले मात्रै एक तिहाई बढि हिस्सा ओगटेको छ ।
जनगणना २०७८ को तथ्याङ्क अनुसार झापाको जनसंख्या जम्मा ९ लाख ९४ हजार ९० रहेको छ भने उक्त जनसंख्या भन्दा ५३ हजार ५८० जना बढी सहकारीहरुको सदस्य संख्या १० लाख ४७ हजार ६७० रहेको छ । यस्तो हुनुमा सेवाकेन्द्र बाहिरी जिल्लामा हुनु प्रमुख कारण रहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले जनाएको छ ।
यस्तै सहकारीमा दोहोरो–तेहरो सदस्यताको होड चलेको छ । एक अर्कोबीच सदस्यता बढाउने अस्वस्थ प्रतिस्पर्धाको अभ्यासले झापामा विकराल देखिँदै गएको र बिना सुझबुझ सेवा केन्द्रहरु खोलिएको विज्ञहरु बताउँछन् । झापाका कतिपय सहकारीहरुको सेवा केन्द्र मोरङमा र इलाममा पनि छन् । झापामा मात्रै प्रदेश मातहतका वचत तथा ऋण सहकारी संस्था १५१, बहुउद्देश्यीय ९१, दुग्ध १०, संघ ५, विशिष्टीकृत २, अन्य १६ गरी ३३३ वटा सहकारी र २८० वटा सेवाकेन्द्र रहेका छन् । यस्तै पालिका अन्तर्गतका ३ हजार ८३६ सहकारीमध्ये झापामा मात्रै ७५६ वटा छन् ।
प्रदेशमा १ अर्बमाथि सम्पत्ति र दायित्व भएका सहकारीको संख्या १२ वटा छन् । तीमध्ये ११ वटा सहकारी झापामा मात्रै छन् । यस्तै प्रदेशमा ५० करोडदेखि १ अर्बसम्म कारोबार गर्ने १३ वटा, २५ करोडदेखि ५० करोडसम्म कारोबार गर्ने ३१ वटा र ५ करोडदेखि २५ करोडसम्म कारोबार गर्ने सहकारीको संख्या ९७ वटा छन् ।
झापाका ती ११ वटा संस्थामा मात्रै ५३ अर्ब ४४ करोड ६ लाख ६७ हजार ५०५ रुपैयाँको सम्पत्ति र दायित्व देखिएको छ । १२ औं नम्बरमा रहेको मोरङको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थामा १ अर्ब २३ करोड २ लाख २० हजार ९८० रुपैयाँको सम्पत्ति र दायित्व छ । प्रदेशका यी १२ वटा सहकारीको जम्मा सम्पत्ति र दायित्व ५४ अर्ब ६७ करोड ८ लाख ८८ हजार ४८५ रुपैयाँ रहेको छ ।
झापामा रहेका ११ वटा ठूला सहकारीमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था विर्तामोड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. मेचीनगर, कर्णाली बचत तथा ऋण सहकारी संस्था विर्तामोड, मेची बहुउद्देश्यीय सहकारी संस्था दमक, सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोड, पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. तोपगाछी, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था विर्तामोड, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमक, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमक, नवोदय बहुउद्देश्यीय सहकारी संस्था तोपगाछी र किसान कल्याण बचत एकम्बा रहेका छन् ।
कोशी प्रदेश अन्तर्गत नियमन हुने सहकारी एक हजार ७८ वटा रहँदा स्थानीय सरकार अन्तर्गत ३ हजार ६५१ वटा सहकारी छन् । प्रदेश सरकार अन्तर्गत रहेका एक हजार ७८ सहकारीमा मात्रै १२ लाख १५ हजार ३४४ सदस्यको १३ अर्ब २४ करोड २७ लाख ८ हजार शेयरपूँजी र बचतकर्ताको ६५ अर्ब ५८ करोड ८७ लाख ७५ हजार रुपैयाँ बचत रहेको छ । ती सहकारीहरुको ऋण लगानी भने ८१ अर्ब १३ करोड ९ लाख ५४ हजार रहेको छ । सहकारीको जम्मा कोष ९ अर्ब ३३ करोड ८२ लाख १८ हजार र कूल सम्पत्ति दायित्व १ खर्ब ३ अर्ब ९ करोड २१ लाख ५४ हजार रहेको छ । रोजगारी गर्नेको संख्या ७ हजार ९६ जना रहेका छन् ।
कोशी प्रदेशमा भएका सबै सहकारीमा २१ लाख ७८ हजार ५०३ शेयर सदस्यको कूल शेयर पुँजी २१ अर्ब ५२ करोड ९२ लाख ८२ हजार ८२२, कूलब बचत ९२ अर्ब २५ करोड ५९ लाख ७९ हजार ३२८, कूल कोष ११ अर्ब ५९ करोड ६७ लाख ७५ हजार ८१३, कर्जा प्रवाह १ अर्ब १३ अर्ब ११ करोड १८ लाख ९८ हजार ७१३ गरी जम्मा सम्पत्ति र दायित्व १ अर्ब ४५ अर्ब १७ करोड ३७ लाख ४१ हजार ४८ रुपैयाँ रहेको छ । सहकारीमा १४ हजार २५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
झापाका सहकारीहरु केही समस्या देखिन सुरु गरेको छ । अन्य जिल्लाहरुमा देखिएको जस्तै समस्या भएपनि उक्त जिल्लामा ठूलो संख्यामा मानिसहरु सहकारीमा आवद्ध रहेको कारण केही समस्या आए थेग्न नसकिने तथ्याङ्कले देखाएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार सहकारीमा शुद्धीकरणको अभाव छ, वित्तीय क्षेत्रमा देखिएका अफवाह र भ्रमलाई चिर्न सकिएको छैन । झापामै दुर्गा प्रसाईले बैंक, वित्तीय संस्थाहरुप्रति फैलाइरहेको भ्रमले देशभरका आम सहकारीहरु पनि प्रभावित छन् । झापा झनै प्रभावित छ ।
‘प्रदेशमा सहकारीहरुमध्ये ठूलो पैसा राखेर बसेका झापाका सहकारीहरुमा समस्या देखियो भने थेग्न मुस्किल पर्ने देखिन्छ,’ प्रदेश रजिष्टार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले भने, ‘त्यसकारण सहकारीका संचालक, कर्मचारी तथा शेयर सदस्यहरु उत्तिकै चनाखो हुनुपर्ने अवस्था छ ।’
केही सहकारीका संचालक र कर्मचारीहरुमा वित्तीय अनुशासनको अभाव देखिएको छ । सहकारीका उत्पादनहरु बजारीकरणमा समस्या देखिएको छ । सहकारी संचालकमै वित्तीय विश्लेषणको ज्ञान नहुनु र सहकारीमा सूदखोरहरुको प्रवेश हुनुले जुनसुकै बेला ठूलो समस्या आउनसक्ने उनी बताउँछन् । यस्तै ठूला सहकारीहरुमा पनि दक्ष जनशक्तिको अभाव छ । पालिकाहरुले सहकारीलाई प्राथमिकता दिएका छैनन् । समग्र अर्थतन्त्रका सूचकहरु ओरालो लागेको छ । जोखिममा आधारित भई अनुगमन गर्ने अभ्यास पनि छैन । यस्तो अवस्थामा सहकारीहरुमा जुनसुकैबेला जे पनि समस्या आउन सक्ने खत्रीको दाबी छ ।