विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले कार्यालय सहयोगी भर्ना गर्नको लागि लिखित परीक्षासमेत लिने भएको छ ।
कार्यालय सहयोगीको लागि सरकारी कार्यालयहरुले मौखिक परीक्षा मात्र लिने गरेकोमा कानेपोखरी गाउँपालिकाले भने लिखित परीक्षासमेत लिने भएको हो ।
गत पुस २६ गते सूचना प्रकाशित गरी गाउँपालिकाले ६ जना कार्यालय सहयोगी पदमा आवेदन आव्हान गरेको थियो । जसमा १३२ जनाले आवेदन दिएको गाउँपालिकाले जनाएको छ । धेरैको आवेदन परेकोले गाउँपालिकाले लिखित र मौखिक परीक्षामार्फत कार्यालय सहयोगी छान्न आँटेको हो ।
कार्यालय सहयोगीको लागि ओभरसियर, सबइन्जिनियर, कृषि (आएसिएजी) र स्नातक पास गरेकाहरुले आवेदन दिएपछि गाउँपालिका परीक्षा गराउन लागेको हो । गाउँपालिकाले २ वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ वटाको लागि ६ जना कार्यालय सहयोगीका लागि आवेदन दिन २०८० पुस २६ गते सूचना आव्हान गरेको थियो ।
कार्यालय सहयोगीको लागि शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण भए पुग्ने सरकारी मापदण्ड छ । तर, गाउँपालिकाले भने एसएलसी वा एसइई वा सो सरह उत्तीर्ण हुनेले मात्र आवेदन गर्न पाउने प्राबधान राखेको थियो । यस्तै आवेदक कम्प्युटर चलाउन जान्ने र सवारी साधानको चालक अनुमतिपत्र भएको हुनुपर्ने प्राबधान राखेको छ ।
गाउँपालिकाले पाठ्यक्रमका आधारमा लिखित तथा मौखिक परीक्षा लिनेगरी सूचना जारी गरेको छ । फागुन २९ गते लिखित र ३० गते अन्तरवार्ता लिने गाउँपालिकाको भनाइ छ । अफिसलाई स्मार्ट ढङ्गले सञ्चालन गर्ने व्यक्ति चाहिएकाले परीक्षा गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।
परीक्षा समितिले कार्यालय सहयोगीलाई नै आधार मानेर पाठ्यक्रम पनि बनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा सामान्य ज्ञान र सेवा सम्बन्धी ज्ञान भएको ८० पूर्णाङ्कको लिखित परीक्षा लिने उल्लेख छ । ४० वटा बहुवैल्पिक प्रश्न सोध्ने र एउटा प्रश्नको अङ्कभार २ नम्बर राखिएको गाउँपालिकाले जनाएको छ ।
अन्तर्वार्ताको लागि भने २० पूर्णाङ्क तोकिएको छ । लिखितमा ३२ र मौखिकमा ८ उत्तीर्णाङ्क तोकिएको छ । ‘उपाध्यक्ष भोला अधिकारीले लिखित नै गर्नुपर्छ भने जोड गर्नुभयो,’ प्रमुख प्रशासकीय अधिकृत यादवले भनिन् ‘त्यसपछि अध्यक्ष राजमति इङ्नामले पनि मेरो केही छैन, फेयर गर्नुहोस् भनेपछि परीक्षा नै गर्न लागेका हौं ।’ पालिकाले सामान्य ज्ञान, सेवा सम्बन्धि ज्ञान र प्राथमिक उपाचार सम्बन्धि ज्ञानलाई समेटेर पाठ्यक्रम बनाएको छ ।
कार्यालय सहयोगीमा आवेदन दिनेमध्ये स्नातक पास गरेका धेरै रहेको गाउँपालिकाले जनाएको छ । स्नातकले भने परीक्षामा खासै असर नगर्ने प्रमुख प्रशासकीय अधिकृत यादवको भनाइ रहेको छ । ‘अहिले कलेजहरूले दिएका सर्टिफिकेटलाई नै मूल्यांकन गरेर भन्न सकिँदैन लेखेको हेरेर मात्रै थाहा हुन्छ,’ उनले भने ‘लोकसेवा पनि स्नातकले प्रशासन चौथो तहमा भिडिरहेका हुन्छन् ।’ प्राविधिक क्षेत्रकाले पनि कार्यालय सहयोगीमा भरेपछि गाउँपालिका परीक्षा गराउन बाध्य बनेको हो ।
नियुक्त हुने कार्यालय सहयोगीको करार अवधि एक वर्षको हुने गाउँपालिकाले जनाएको छ ।

