विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट शुक्रबार विहान तीन जनाको मृत्यु भयो भने दुई जना घाइते भए । टिपरको ठक्करबाट बोलेरो चालक विर्तामोड नगरपालिका–२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका–२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका–४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार विर्तामोड–२ की ४८ वर्षीया गायत्री भट्टराई र विर्तमोड–४ का ४६ वर्षीय हरि खनालको घाइते अवस्थामा न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । ढकालको मृत्युपछि आक्रोशित स्थानीयले सोही सडकमा कुद्ने ७ वटा टिपरमा आगजनी गरेका थिए ।
गएको मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाई नगरपालिका–२ की ३५ वर्षीया गीता कटुवालको मृत्यु भएको थियो । मोरङमा टिपरबाट भएका तीन गम्भीर दुर्घटना चालकको असावधानीका कारण भएको प्रहरीको भनाइ छ ।
मोरङ जिल्लामा मात्र होइन, कोशी प्रदेशका अन्य जिल्लामा पनि टिपरको आतंक उस्तै छ । तीन वर्ष ८ महिनामा कोशी प्रदेशमा ५८ जनाको
टिपरबाट ज्यान गएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
यसबीच भएका २७९ वटा टिपर दुर्घटनामा पर्दा ५८ जनाको मृत्यु र ३५२ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७७÷६८ मा ७८ वटा दुर्घटना भएकोमध्ये १९ जनाको मृत्यु भएको थियो भने ६९ जना घाइते भए । आर्थिक वर्ष २०७८÷७९ मा भने दुर्घटना संख्यामा वृद्धि भएकोमा मृत्यु हुनेको संख्यामा भने कमी आएको देखिन्छ । सो आर्थिक वर्षमा १०४ वटा टिपर दुर्घटना हुँदा १३ जनाको मृत्यु र १५० जना घाइते भएका थिए ।
यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ६९ टिपर दुर्घटनामा १८ जनाको मृत्यु र ८६ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷८१ को फागुन १८ गतेसम्म २८ टिपर दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डिएसपी मोहनबिक्रम दाहालले जानकारी दिए ।
कोशी प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना टिपर मोरङमा हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको फागुन १८ गतेसम्म कोशी प्रदेशमा २८ वटा टिपर दुर्घटना भएकोमा मोरङमा मात्र १० वटा टिपर दुर्घटना भएको छ । मोरङपछि उदयपुरमा बढी दुर्घटना भएको छ । उदयपुरमा ७, सुनसरी, झापा, पाँचथरमा २–२ वटा दुर्घटना भएको छ । तेह्रथुम र संखुवासभा १–१ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको अभिलेखमादेखिन्छ ।
साँघुरा र जीर्ण सडकमा तीब्र गतिमा हुइँकिने टिपरबाट बढी दुर्घटना हुने गरेको छ । अस्वस्थ्य प्रतिस्पर्धाका कारण पनि दुर्घटनाको जोखिम बढी हुने गरेको डिएसपी दाहालले बताए ।
साँघुरो सडक, ओभर स्पिड र ओभरट्याकको कारणले दुर्घटना हुने गरेको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ‘सुन्दरहरैचामा शुक्रबार विहान भएको दुर्घटना पनि ओभरटेक गर्दा टिपर अनियन्त्रित भएपछि दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानपछि बिस्तृतमा दुर्घटनाको कारण खुल्नेछ ।’
कतिपय दुर्घटनामा चालकको पनि लापरवाही देखिने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले बिहान साढे ९ देखि ११ बजेसम्म र साँझ साढे ३ देखि ५ बजेसम्म मुख्य बजार एरियामा टिपर कुदाउन रोक लगाएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।