विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको उपचारमा सहुलियत दिने भएको छ ।
अस्पतालले फागुन १८ देखि चैत १८ गतेसम्म सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने घोषणा गरेको हो ।एक महिनासम्म अस्पतलाले निःशुल्करुपमा स्त्री रोग तथा प्रसूतिको ओपिडी सेवा दिने भएको हो । स्त्री तथा प्रसूति रोग सम्बन्धी समस्या भएर स्वास्थ्य परामर्शको लागि ओपिडीमा आउने विरामीको निःशुल्क र ल्याब परीक्षणमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यसैगरी महिलाहरुको लागि सम्पूर्ण उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने गरिएको अस्पतालले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मार्च ८ मा मनाउने गरिन्छ । ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको तथा महिलाकै नेतृत्वमा सञ्चालित न्युरो अस्पतालले विगत सात वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । महिलाहरुको सम्मानका लागि अस्पतालमा आउने विरामीहरुलाई छुटको सुविधालाई यसपटक पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले जानकारी दिइन् ।
बहुआयामिक सेवा प्रदान गर्दै आएको न्युरो अस्पतालमा भर्खरै ६ तल्लाको नयाँ भवन थपसहित नयाँ एमआरआइ मशिन जडान गर्दे सुपरस्पेशियालिटी सेवाहरु सुरु भइरहेको छ । अस्पतालले विराटनगर महानगरपालिका वडा नं ८ र १० का सम्पूर्ण बासिन्दाहरुको लागि स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएको छ ।
विराटनगर ८ र १० का सम्पूर्ण बासिन्दाहरुले न्युरो अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा तथा वडाको आग्रहमा निःशुल्क स्वास्थ्य शिविर पनि गर्ने भएको छ । एक कार्यक्रमका बिच न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई तथा विराटनगर ८ र १० वडा अध्यक्षद्वय क्रमश राम पोखरेल तथा अर्जुन गिरीले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आम सेवाग्राही मामाझ स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन विराटनगर महानगरपालिकाका अन्य वडाहरुसँग पनि यस्तै प्रकारको सम्झौता गर्ने योजना रहेको अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए ।