प्रदेशको नामकरण भएको एक वर्ष पुरा : पहिचानवादीको विरोध प्रदर्शन

विराटनगर । प्रदेशको नाममकरण भएको एक वर्ष पुरा भएको दिन बिहीबार पहिचानवादीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा कोशी प्रदेशका सबै जिल्ला र काठमाडौंमा प्रदर्शन भएको हो । प्रदर्शनमा आदिवासी जनजाति महासङ्घमा आबद्ध जातीय संंस्थाहरुले सहभागिता जनाएका थिए । प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए ।

प्रदेशसभाले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । त्यसयता पहिचानसहित प्रदेशको नामकरण हुनुपर्ने माग गर्दै आन्दोलन भइरहेको छ । नामकरण भएको एक वर्ष पुगेको दिनलाई पहिचानवादीहरुले ‘अध्यारो दिन’ भन्दै विरोध गरेका हुन् ।

प्रदेशको नाम कोशी राखेको दिनलाई पहिचानवादीहरूले कालो दिनको रूपमा विरोध जनाएको किराँत याक्थुङ्ग चुम्लुङका महासचिव निरन्ती तुम्वापोले बताएकी छन् । प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिले प्रदेशको नामक कोशी राखेको दिनको रूपमा कालो दिनको रूपमा लिएको छ ।

प्रदेशसभामा रहेका एमाले, माओवादी, काँग्रेस र राप्रपाका प्रदेश सभा सदस्यले कोशी नामको पक्षमा मतदान गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा जसपा र एकीकृत समाजवादीले मात्र कोशीको विपक्षमा मतदान गरेको थियो । पछिल्लो समयमा भने माओवादी केन्द्र र नेपाली काँग्रेसले पनि नामकरणबारे उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

कोशी नाम राखिएपछि पहिचानवादीहरूले गरेको आन्दोलनको क्रममा पदम लिम्बु लाजेङ्गको मृत्यु भएको थियो । पहिचानवादीले कोशीमा मतदान गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउँदै आएका थिए ।

केदार कार्की नेतृत्वको सरकारले पहिचानवादीहरूसँग वार्ता गरेपछि उनीहरुले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेका छन् ।

बिहिबार, १७ फागुन, २०८०, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर