सिद्दीकीविरुद्धको मुद्दामा आज पनि फैसला आएन : बहस नोट पेश गर्न आदेश

विराटनगर । मोरङ जिल्ला अदालतले विराटनगरबाट सञ्चालित नेपाल टाइम्सका संस्थापक तथा सञ्चालक अब्दुल खताब (शाहंशाह सिद्दीकी) विरुद्धको मुद्दामा बहस नोट पेश गर्ने आदेश दिएको छ ।

न्यायाधीश बावुराम सुवेदीको इजलासले बिहीबार मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको हो ।

बहसलाई छोट्याउन सरकारी पक्ष र प्रतिवादीका कानुन व्यवसायीबाट बहस नोट झिकाइएको हो । १५ दिनको समय दिएर बहस नोट माग गर्ने आदेश आएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । बहस नोट आएपछि मुद्दामा पेशी तोकिने उनले बताए ।

सिद्दीकीको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ । झन्डै १५ महिनादेखि प्रहरीको हिरासत हुँदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागारमा रहेका सिद्दिकीले विराटनगरका व्यवसायी अरुण राठीलाई अपहरण गरेको आरोप छ ।

२०७९ मंसिर १४ गते भएको भनिएको घटनाबारे मंसिर १८ गते राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । नेपाली टाइम्सका सञ्चालकसमेत रहेका राठीले अर्का सञ्चालक सिद्दीकीविरुद्ध दिएको जाहेरीपछि मंसिर २९ गते उनी प्रहरीसामु उपस्थित भएका थिए ।

सिद्दीकी २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका हुन् । सो प्रकरणमा उनका चालक जयकुमार राम भने १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । राठीले आफूलाई बोलाई बन्धक बनाएर १५ लाख रुपैयाँ असुल गरेको आरोप सिद्दीकीमाथि लगाएका छन् । सिद्दीकीले भने मिडिया साझेदार रहेकोले उनले सो रकम नेपाली टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको जिकिर गर्दै आएका छन् ।

दुई साझेदारबीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नु परेको सिद्दीकीको गुनासो छ । राठीले प्रहरीमा दिएको उजुरी अनुसार, सिद्दीकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएका थिए ।

राठी नेकपा एमालेको कोशी प्रदेश कमिटि सदस्य हुन् । उनी गत प्रदेशसभा निर्वाचनमा एमालेको समानुपातिक सुचीका उम्मेदवारसमेत थिए ।

बिहिबार, १७ फागुन, २०८०, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर