गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको लागि टेण्डर आह्वान

भरतपुर । हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण थालेर अलपत्र बनेको चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने भएको छ । भरतपुर उपमहानगरपालिकाले रंगशालाको थप पूर्वाधार निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान गरेको हो ।

रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताए ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३–३ तलाको टावर बनाइने छ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।

रंगशालाको गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यहीभित्र बन्ने आचार्यले जानकारी दिए । ३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रंगशालाको काम सक्ने अपेक्षा महानगरको छ ।

रंगशाला सम्बन्धी नै कामकाज गरेको र ५८ करोडभन्दा बढी टर्नओभर गरेको अनुभवी ठेकेदारले टेण्डरमा सहभागिता जनाउन पाउँनेछ । महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएकोले तोकिएको समयमा काम सम्पन्न गर्ने बताएकी छन् ।

यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्नेछ ।

संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।

रंगशालाको पहिलो फेजको काम लागि टेण्डरमा आह्वान गरिएको बताउँदै महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले निर्माणको प्रक्रिया अगाडि बढेपछि दोस्रो फेजको कामका लागि पूर्वतयारी गर्ने जानकारी दिएका छन् ।धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट काम रोकिएको थियो ।

फाउण्डशेनले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए । रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाहा १९ कठ्ठा जग्गामा निर्माण सुरु भएको रंगशालाको काम ३९ प्रतिशत सकिएपछि रोकिएको थियो । अहिले प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै हात झिकेको थियो ।

बिहिबार, १७ फागुन, २०८०, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर