इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बनाउन प्रदेश सरकारसँग सम्झौता

इटहरी । सुनसरीको इटहरीस्थित बुढी जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरीमा इलेक्ट्रिक दाहसंस्कार स्थल बन्न लागेको हो ।

इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह निर्माण हुने पक्का भएको छ । यहि आर्थिक वर्षमा सञ्चालन हुनेगरि काम काम अगाडि बढाइने भएको छ ।

बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी–४ मा रहेको बुढी जमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा शवदाहगृह निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो ।

दाउरा विपन्न तथा गरिबहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भएपछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा २–३ घण्टा लाग्ने भएपनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ ।

इटहरीमा सुविधासम्पन्न विद्युतिय शवदाह निर्माण गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आएका थिए । इटहरी उपमहानगरले घरदेखि घाटसम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शबदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी मेयर पौडेलको छ ।

कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन हुन लागेको प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिए । शवदाह गृहको व्यवस्थापन इटहरी उपमहानगरले नै गर्नेछ ।

अहिले इटहरीको बुढी जमुना मुक्ति घाटमा सरदर ५ वटा शवको दाहसंस्कार हुने गरेको छ । करिब ३ करोड ५० लाखको बन्ने विद्युतीय शवदाह गृहमा प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ । विद्युतिय शवदाह निर्माण शुरु गर्नेगरी दुवै सरकारको प्रतिनिधित्व हुने प्राविधिक समिति गठन गरिएको छ ।

बिहिबार, १७ फागुन, २०८०, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर