विराटनगर । विभिन्न अपराध गरेर अदालतले दोषी ठहर गरेका प्रतिवादीहरू मोरङमा ठूलो संख्यामा फरार रहेको पाइएको छ । अपराध गरेर फरार सूचीमा मोरङमा ३ हजार ६ सय ४ जना छन् ।

अपराधमा संलग्न भएवापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार बनेका ठूलो संख्याका प्रतिवादी पक्राउ पर्न बाँकी देखिएको हो । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गर्ने बताएका छन् ।

फरार सूचीमा रहने विभिन्न मुद्दामा अभियुक्तहरु रहेका छन् । प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी पक्राउ पर्न थालेका छन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं’ एसपी कार्कीले भने, ‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

प्रहरीले फरार पक्राउ गर्ने अभियान चलाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले एकैदिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।

पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार नै अदालतमा बुझाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ८ जना कैद र ५१ जना जरिवानाको फैसला भएका प्रतिवादीहरु छन् । जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग,ठगी,अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भएर पनि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेर प्रहरीले पेस गरेपछि कैदको फैसला भएकाहरूलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताए । उनका अनुसार जरिवानाको फैसला भएकाहरु जरिवानावापतको रकम बुझाएर छुटेका छन् ।
अपराधमा संलग्नहरू खुलेआम हिँडडुल गर्दा समाज भयभित भइरहेको हुन्छ । पीडक पक्राउ नपर्दा अपराधबाट पीडित भएकाहरु झन् ठूलो तनावमा र त्रासमा पर्ने गरेको उनले सुनाए । कानुन कार्यान्वयनप्रति आमसार्वसाधारणलाई सशंकित हुन नदिन र पीडितलाई न्याय दिलाउन विगतका अपराधमा संलग्नलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएको कार्की बताउँछन् ।

‘प्रतिवादी पक्राउ पर्दा पीडितले न्याय एवं राहतको महसुस गर्न पाउँछन् । उनीहरु डर एवं भयबाट मुक्त हुन्छन्,’ उनले भने, ‘प्रहरीको कामकारबाहीप्रति समाजमा विश्वास बढ्छ । पीडक पक्राउ नपर्दा पीडित झन् ठूलो पीडामा पर्नुपर्ने अवस्था हुन्छ ।’ कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनले बताए ।

विगतमा अपराधमा संलग्नहरु कतै फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि मोरङ प्रहरीले सबैमा आग्रह गरेको छ । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गर्न तत्काल प्रहरी परिचालन गरिने कार्कीले बताए ।