विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका का.वा अध्यक्ष भीमबहादुर पौडेलले मोरङ सुनसरी औधोगिक करिडोर क्षेत्रमा उत्पादनमूलक उद्योगको विकासका लागि स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य गर्न सकिने बताएका छन् । कार्यवाहक अध्यक्ष पौडेलले कच्चा पदार्थ, दक्ष श्रम शक्तिको आपुर्ती, प्रशोधन, आन्तरिक र वाह्य बजार विस्तार, उत्पादनको प्रतिस्पर्धी क्षमता विकाससँगै कृषिलाई उद्योग, व्यापार र पर्यटनसँग जोडेर अगाडि बढाउन सकिने बताएका हुन्

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।प्रदेश सरकार, विभिन्न स्थानीय सरकारहरू र निजी क्षेत्र सम्बद्ध सरोकारवालाका सहभागी कार्यक्रममा आर्थि क्षेत्र सम्बद्ध विविध क्षेत्रका सम्भावना र चुनौतीहरुका बारेमा छलफल गरिएको थियो ।

अध्यक्षता मन्तव्य राख्दै पौडेलले मूल्य श्रृङ्खला विस्तार, मूल्य अभिबृद्धिमा सबै तहका सरकार र निजी क्षेत्रका बिच सहकार्य बढाउन सक्ने सम्भावना, औद्योगिक विकासको सम्भावना आदि सवालमा स्थानीय र प्रदेश सरकारबीचको बुझाइमा एकरुपता ल्याउनु पर्नेमा जोड दिए । उनले प्रदेशमा उद्योग, कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना भएपनि त्यसलाई आर्थिक विकासको अवसरमा बदल्न नसकिएकोले स्थानीय सरकारको अग्रसरतामा सबै तहका सरकार र निजी क्षेत्रले मिलेर कार्य गर्नुपर्ने बताए ।
निजी क्षेत्रबाट सहयोग कोइरालाको गुनासो

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरले राम्रो उद्देश्यले थालनी गरेका थुप्रै काममा निजी क्षेत्रबाट सहयोग र समर्थन नपाएको गुनासो गरे ।कार्यक्रममा मेयर कोइरालाले विराटनगरको आर्थिक अवस्था सुधार गर्न र बजारलाई व्यस्थित बनाउन सुरु गरिएका कामहरुमा निजी क्षेत्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका हुन् ।

उनले विराटनगरमा पार्किङ व्यवस्थापन गरी बजारलाई व्यवस्थित गर्न खोजिएको र जोगवनीमा गएर खरिद गर्ने प्रवृत्ति निरुत्साहित गर्न खोजिएको भए पनि आवश्यक सहयोग नपाएको गुनासो गरे ।विराटनगरको पार्किङ व्यवस्थापन गर्दा आलोचना गर्नेहरूले भन्सार जाँचपासमा कडाइ गर्न गरिएको समन्वयमासमेत असहयोग गरेकोमा उनको गुनासो थियो ।

‘सडकको पार्किङ हटाउँदा व्यापार भएन भनेर भन्नेहरू अहिले पार्किङ सुविधा दिँदा पनि व्यापार राम्रो भयो भन्न सकिरहेका छैनन्,’ उनले भने ‘विराटनगरमा जे गर्दा पनि आलोचना गर्ने मानसिकता हाबी रहेछ ।’“कुनै काम गर्न खोज्दा समर्थन हुँदैन भने कसरी सहकार्य हुन्छ” मेयर कोइरालाले भने, “विराटनगरको सबैको हो, मेरो कार्यकाल तीनवर्ष बाँकी छ, त्यसपछि म नागरिककै तहमा आउँछु, त्यसपछि जे निर्णय गरे पनि विरोध मात्रै गर्ने हो भने कसले बनाउँछ विराटनगर ? सहकार्य गर्नका लागि सहअस्तित्व स्वीकार हुनुपर्दछ ।” कोइरालाले निजी क्षेत्र र सरकारबीचको सहकार्यले मात्रै दिगो आर्थिक विकास हुने धारणा राख्नुभयो ।

मेयर कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट विकास सम्भव हुने पनि बताए ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका हुन् ।

सरकार र निजी क्षेत्रबीचको सहकार्य प्रभावकारी नभएकै कारण सोचेजस्तो देशको विकास हुन नसकेको उनले बताए ।देशको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले अर्थतन्त्रमा निजी क्षेत्रले ८१ प्रतिशत योगदान दिएकोले त्यसलाई बेवास्ता गर्न नहुने बताएका हुन् ।

उनले भने “कूल ५३ खर्ब ८१ अर्ब बराबरको अर्थतन्त्र रहेको नेपालमा निजी क्षेत्रको योगदान ४३ खर्ब ८८ अर्ब बराबर रहेको छ । यसले पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको देखिन्छ । त्यस्तै साढें ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ ।”
यसैगरी बुढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे ।

निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको उनले बताए ।
यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी ल्याउन नसक्दा सरकारले निर्माण गरेको संरचनासमेत प्रयोगविहीन रहेको बताए । उनले रेलवेलाइनको नेपाल तर्फको कार्य पूरा गर्न, कृषि बजार केन्द्र सञ्चालनमा ल्याउन तथा पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न गर्न स्थानीय तहबाट अग्रसरता देखाउँदा पनि संघ र प्रदेश सरकारबाटै सहयोग नपाइएको गुनासो गरे ।

दुहवी नगरपालिकाका उपप्रमुख मेनुका पोख्रेलले साना, लघु र घरेलु उद्यमीको सशक्तीकरण र मुल प्रवाहीकरण विना आर्थिक विकास सम्वभ नहुने भएकोले उनीहरुका लागि गरिने लगानीको तत्काल प्रतिफल खोज्न नहुने बताइन् ।

जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेनले स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर लगानी गर्न आउने लगानीकर्तालाई जहदा गाउँपालिकाले सहयोग गर्ने बताउँदै लगानीका लागि आव्हान गरिन् ।

कृषि उद्योग तथा सहकारी मन्त्रालयका उद्योग महाशाखा प्रमूख लक्ष्मी पराजुलीले स्थानीय उद्योगको प्रवद्र्धनका लागि स्थानीय उत्पादनको उपभोग बढाउन सबै तहबाट प्रयास हुनुपर्ने बतइन् । उत्पादन बृद्धि बिना आर्थिक विकास सम्भव नहुने हुनाले उत्पादन, मूल्य अभिबृद्धि र बजारीकरणमा सम्बन्धीत सबै पक्षले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका वातावरण महाशाखा प्रमुख पुनम दाहालले सार्वजनिक निजी साझेदारीका सम्भाव्य परियोजना पहिचान र लगानी मार्फत सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रमका अधिकांश सहभागीहरुले स्थानीय र प्रदेश सरकार प्राथमिकता निर्धारणमा एकमत हुन नसक्दा विकासले गति लिन नसकेको बताएका थिए भने राजश्वका दर दायरा निर्धाणमा पनि वस्तुनिष्ठ हुन सुझाएका थिए ।

द एशीया फण्डेशन र कम्युनिटी इन्गेजमेन्ट्स् एण्ड आउटिरिचको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशल आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरु लगायत ६० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो