विराटनगर । सुनसरीको इटहरी ४ स्थित एक विद्यालयको नवनिर्मित भवन कसले उद्घाटन गर्ने भन्ने विवाद चर्किएको छ । नेकपा एमालेका कार्यकर्ता रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ल्याएर भवन उद्घाटन गर्ने कार्यक्रम राखेपछि उपमहानगरका मेयर हेमकर्ण पौडेलले कार्यक्रम स्थगित गर्न दबाब दिएका छन् ।
व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री रहेका ओलीलाई ल्याएर फागुन १६ गते भवन उद्घाटनको कार्यक्रम तय गरेको छ । ओलीलाई ल्याएर भवन उद्घाटन गर्ने जानकारी पाएपछि मेयर पौडेलले भने तयारी पुरा नभएको भन्दै कार्यक्रम स्थगित भएको विज्ञप्ति जारी गरेका छन् ।
विद्यालयको स्थानीय सरकार मातहत सञ्चालन हुने भएपनि मेयरको निर्देशन अवज्ञा गर्दै व्यवस्थापन समितिले कार्यक्रम गरेरै छाड्ने बताएको छ । एमालेका नेताहरु पनि कार्यक्रम सम्पन्न हुने भन्दै तयारीमा छन् ।
मेयर पौडेलले कार्यपालिकाको निर्णय भन्दै कार्यक्रम स्थगित गर्न पत्र नै पठाएका छन् । भवन निर्माणको काम सम्पन्न नभएको भन्दै उद्घाटन कार्यक्रम स्थगित गर्न उनले सोमबार पत्र पठाएका थिए । तर, व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले निर्धारित समयमै भवन उद्घाटन हुने र ओलीले नै गर्ने बताएका छन् ।
ओलीबाट भवन उद्घाटन गराउने कार्यक्रमको तयारी गर्न एमाले कोशी प्रदेशका सहइन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईसहितका नेताहरु आइतबार विद्यालयमा पुगेका थिए । राजनीतिक प्रतिशोध साँधेर ओलीलाई भवन उद्घाटननमा अवरोध गर्न खोजेको भन्दै एमालेले भवन उद्घाटन नरोकिने बताएको छ ।
मेयर पौडेलले भने पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले भवनको उद्घाटन गर्नु गौरवको कुरा भएपनि नगरसँग जोडिएको विषय भएकाले आवश्यक तयारी पूरा गर्न बाँकी भएको जिकिर गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्तर्गत छात्रावाससहितको सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेको हो । इटहरी उपमहानगरपाकिाका तत्कालिन नगरप्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए ।
इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोगमार्फत सङ्घीय सरकारको विशेष अनुदानमा बनेको भवनमा उपमहानगरपालिकाको १० प्रतिशत लगानी रहेको बताइएको छ ।


