लोड हुँदैछ...

मेनु

धरान उपमहानगरपालिकाको कार्यपालिकामा फेरि लफडा

धरान उपमहानगरपालिकाको कार्यपालिकामा फेरि लफडा

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको नगरसभा बस्नुअघि मंगलबार बोलाइएको कार्यपालिका बैठकमा फेरि लफडा भएको छ । नगरसभामा बजेट संशोधनको लागि लगिने प्रस्ताव अनुमोदन गर्न बिहान ८ बजे बसेको बैठकमा लफडा भएको हो ।

बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । वडा कार्यालयहरुबाट आएको बजेट संशोधन (रकमान्तर) गर्नेबारे सहमति जुटेपनि उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिले पेश गरेको बिषयगत समितिमार्फत आएको संशोधनको प्रस्तावमाथि मेयर साम्पाङले नै असन्तुष्टि जनाएका थिए ।

मेयर साम्पाङले आफुलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएका थिए । उनले कार्यपालिका बैठकमा प्रस्ताव आफुमार्फत मात्र आउने भन्दै रकमान्तरको प्रस्ताव स्वीकार्य नहुने अडान लिएपछि विवाद भएको थियो ।

उपमेयर अइन्द्रबिक्रम बेघाले भने कानुन वमोजिम र प्रक्रिया अनुसार बिषयगत समितिमार्फत आएको प्रस्तावलाई बजेट तर्जुमा समितिले कार्यपालिकामा निर्णयार्थ ल्याएको बताएका थिए । मेयर साम्पाङले आफुलाई थाहै नदिई बैठकमा प्रस्ताव ल्याउन नपाइने भन्दै डिपिआर शिर्षकको बजेट अन्यत्र लैजान नहुने र मेयर कोषलाई पनि बजेट थप गर्न रकमान्तर गर्नुपर्ने बताएका थिए ।

त्यसक्रममा मेयर, उपमेयर, कार्यपालिका सदस्यहरुबीच आरोप प्रत्यारोप पनि चलेको थियो । त्यसक्रममा वडा नं. १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोजं)ले मेयर साम्पाङलाई हिटलर र नश्लवादी चरित्र भएको आरोपसमेत लगाएका थिए । बैठकको अन्त्यमा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले बजेट रकमान्तरबारे २ वटा प्रस्ताव आएकोले मेयर, उपमेयर, बिषयगत समितिका संयोजकहरुबीच बैठक बसेर सहमति कायम गरेर ल्याउन सुझाव दिएका थिए ।

विवाद बढ्दै गएपछि बैठक कुनै निर्णय नगरी स्थगित भएको थियो । दिउँसो पुनः बैठक बस्ने तय भएपनि अझै बैठक सुरु भएको छैन ।

मेयरको कार्यशैलीको कारण धरान कार्यपालिकामा पटक–पटक विवाद हुँदै आएको छ । मेयरले मनखुसी कार्यपालिका चलाउन खोजेको भन्दै वडाध्यक्षहरु प्रतिवादमा उत्रँदा कार्यपालिका बैठक स्थगित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।