उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सञ्चालन भएको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर आज सम्पन्न भएको छ ।
झापाको बाहुनडाँगीबाट फागुन ९ गते सुरु भएको पदयात्राको क्रममा मुख्यमन्त्री कार्की र प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीसहितको टोलीले ५ जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरेको थियो ।
यसक्रममा ५ जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्रमा टोली पुगेको थियो । दैनिक ४० किलोमिटर हाराहारी पैदलयात्रा गरेको टोलीले हात्तीबाट पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तरसंवाद गरी समस्याबारे जानकारी लिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यात्राको क्रममा आएको जानकारीका आधारमा हात्ती प्रभावित क्षेत्रको समस्या समाधान गर्न कार्ययोजना तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशका सचिव विशाल घिमिरेले जानकारी दिए ।
जंगली हात्तीको परम्परागत जैविक मार्गमा गरिएको यात्रा मानव र हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् । हात्ती मानिसको दुश्मन होइन भन्दै यात्रामा नागरिकलाई सचेत गराएको उनले बताए । ‘जंगल कसको हो ? हामी स्थानीयबाट समस्या बुझ्ने र समाधानको उपाय लिन पदयात्रामा निस्किएका हौं । हात्तीसँगै बस्नुको विकल्प छैन’ उनले यात्रा समापनको क्रममा भने ।
सरकार बोल्नेभन्दा पनि काम गर्ने दिशामा सक्रिय भएको दावी गर्दै मुख्यमन्त्री कार्कीले हात्तीको जैविकमार्गको सड्कुचन र प्राकृतिक बासस्थानको घटेको यात्रमा देखेको उल्लेख गरे । यस्ता विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्ने उनको भनाइ छ ।
जग्गाको लालपूर्जा भएकोले मात्रै क्षतिपूर्ति पाउने प्रावधानले जसलाई बढी क्षतिपूर्तिको आवश्यकता छ उनीहरुले नपाएको पाइएको यात्रामा सहभागी पर्यटन वन तथा वातावरणमन्त्री उप्रेतीले बताए । ‘यात्राका क्रममा हामीले वास्तविक पीडितहरु भेटेका छौं । सुकुमबासीले वडामा निवेदन दिने आधार पनि भएन, मुचुल्का पनि भएन । त्यो नभएपछि क्षतिपूर्ति पाउने कुरा पनि भएन,’ उप्रेतीले भने, ‘लालपूर्जा नहुनेको भोट चाहिं चल्ने, तर, उनीहरुले क्षतिपूर्ति चाहिं नपाउने हुन्छ ? भोटरलिष्टमा नाम भएका जतिलाई क्षतिपूर्ति दिने गरी हामी सम्बोधन गर्छौं । हामीले धनीपूर्जा हुनुपर्ने विभेदकारी नीति हटाउँछौं ।’
यात्राको निष्कर्ष सुनाउँदै उप्रेतीले भने, ‘मुख्य निकर्ष भनेको जंगली जनावरको आश्रयस्थल र आहारामाथि मानवीय आक्रमण भएको कारण वस्तीमा पसेको रहेछ । यो विषयलाई केन्द्रमा राखेर वन्यजन्तुलाई वनमै राख्ने गरी कार्यक्रम कार्यान्वयन गर्नेगरी मन्त्रालय अगाडि बढ्छ,’ उप्रेतीले भने, ‘जङ्गल जनावरमैत्री नहुनुको कारण सामुदायिक वन पनि रहेको निष्कर्ष छ । सामुदायिक वनहरुले सखुवाको रुख मात्रै हेरे पैसा कमाउन । अनि जनावरहरुको वासस्थान मासियो । सामुदायिक वनको ऐन ल्याउने बेलामै वन्यजन्तुको विषय सोचिएको पाइएन । अब त्यसलाई पनि जङ्गली जनावर मैत्री बनाउन पहल गर्नुपर्ने देखियो ।’
कोशी प्रदेशका ५ जिल्लामा हात्तीले घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । समस्याहरुलाई उजागर गरी आगामी दिनमा मानव–हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रकृयामा हात्तीमैत्री वातावण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेंतर्फ यस पदयात्रा लक्षित रहेको उप्रेतले बताएका छन् ।
हात्तीविज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि यात्राले सहयोग गर्ने बताए । संसारमै पहिलो पटक पर्यावरणमैत्री पदयात्रा भएको उनको दावी छ ।
पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरेले पदयात्रा समस्या पहिचान र समाधानका उपाय खोज्न फलदायी भएको बताएका छन् । यात्राको समापन कार्यक्रममा हात्ती विज्ञ रमेश थापा, शंकर लुइँटेल, संघीय सरकारका सचिव दिपक खराल र अभियानकर्मी बालकृष्ण कार्कीलाई सम्मान गरिएको थियो ।

